काठमाडौँमा जापानी वरिष्ठ फोटो पत्रकार ताकुवाले खिचेका जापानको रथयात्रासम्बन्धी तस्बिरहरूको एकल फोटो प्रदर्शनी आयोजना गरिएको छ। हरितालिका तीजको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा काठमाडौँको हनुमानढोकामा प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा जापानको सांस्कृतिक परम्परा तथा रथयात्रा झल्काउने ३० वटा तस्बिर राखिएका छन्।राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले नेपाल र जापानबीच कला तथा संस्कृति आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए। जापानको संस्कृति र परम्पराबारे नेपालीलाई जानकारी गराउने उद्देश्यले वरिष्ठ फोटो पत्रकार ताकुवालाई नेपालमा निमन्त्रणा गरी प्रदर्शनी आयोजना गरिएको उनले बताए।

अध्यक्ष वन्तका अनुसार आगामी दिनमा नेपाली फोटो पत्रकारहरूले खिचेका तस्बिर जापानमा समेत प्रदर्शनी गर्ने तयारी भइरहेको छ। सांस्कृतिक आदानप्रदानमार्फत दुई देशबीचको सम्बन्ध र भाइचारा थप मजबुत बनाउन समूहले विभिन्न देशका फोटो पत्रकारलाई नेपालमा निमन्त्रणा गरी फोटो प्रदर्शनी आयोजना गर्दै आएको उनले बताए। ‘हामीले जापानबाट आउनुभएका वरिष्ठ फोटो पत्रकार ताकुवाको फोटो प्रदर्शनी गरिरहेका छौँ। हरितालिका तीजको अवसर पारेर जापानको सांस्कृतिक परम्परालाई नेपालीमाझ चिनाउने उद्देश्यले यो एकल फोटो प्रदर्शनी आयोजना गरिएको हो,’ वन्तले भने।

उनले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउन कला र संस्कृतिको आदानप्रदान आवश्यक रहेको बताए। ‘हामीले दुई मुलुकको सांस्कृतिक परम्परालाई एक्सचेन्जका रूपमा यो आयोजना गरेका हौँ। छिमेकी तथा मित्रराष्ट्रहरूको कला र संस्कृति चिनाउनुका साथै नेपालको कला र संस्कृतिलाई विश्व समुदायमा चिनाउने उद्देश्यले पनि विभिन्न देशका फोटो पत्रकारलाई नेपालमा निमन्त्रणा गरेर फोटो प्रदर्शनी गर्दै आएका छौँ,’ उनले भने।

जापानको रथयात्रासम्बन्धी ३० वटा तस्बिर प्रदर्शनीमा राखिएको जानकारी दिँदै वन्तले आगामी दिनमा नेपाली फोटो पत्रकारका तस्बिर जापानमा लगेर प्रदर्शनी गर्ने तयारी भइरहेको बताए। राष्ट्रिय फोटो पत्रकार समूहले सांस्कृतिक आदानप्रदानमार्फत विभिन्न मुलुकबीच आपसी समझदारी, सम्बन्ध र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय