विश्व एड्स दिवसको पूर्वसन्ध्यामा माइती नेपालले आइतबार राजधानीको गौशाला चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। ३८औँ एड्स दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूले एचआईभीरएड्सका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा सहभागी सयौँ स्थानीय बासिन्दा, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा स्वयंसेवकहरूले दीप प्रज्वलन गर्दै एचआईभीरएड्सविरुद्धको लडाइँ अझै जारी रहेको सन्देश दिएका थिए।

माइती नेपालकी अध्यक्ष तथा मानव बेचबिखन तथा स्वास्थ्यसम्बन्धी विषयमा लामो समयदेखि सक्रिय सामाजिक अभियन्ता अनुराधा कोइरालाले एड्सबारे जनचेतना अभिवृद्धि गर्न निरन्तर प्रयास जरुरी रहेको बताइन्। उनले भनिन्, “एचआईभीरएड्स केवल स्वास्थ्यको समस्या मात्र होइन, यो सामाजिक र मनोवैज्ञानिक चुनौती पनि हो। यसबारे खुला संवाद, रोकथामका उपायहरूको अभ्यास र संक्रमितप्रतिको भेदभाव अन्त्य गर्न सबैले भूमिका खेल्न आवश्यक छ।”

विश्वभर हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ। यस दिन एचआईभीरएड्ससम्बन्धी सचेतना फैलाउने, संक्रमित व्यक्तिहरूप्रति समर्थन व्यक्त गर्ने तथा मृतकहरूको सम्झनामा विभिन्न कार्यक्रम गर्ने गरिन्छ। नेपालमा पनि हरेक वर्ष सरकारी तथा गैर–सरकारी संस्थाहरूले विभिन्न सचेतनामूलक कार्यक्रम, चेतना र्‍याली, गोष्ठी तथा स्वास्थ्य परीक्षण शिविरको आयोजना गर्दै आइरहेका छन्। गौशालामा सम्पन्न दीप प्रज्वलन कार्यक्रमले राजधानीमा एड्स दिवसको आधिकारिक गतिविधि सुरु गरेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय