काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई जिम्मेवारी दिइएको छ। प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई गृहमन्त्रीको निर्णयअनुसार बिहीबार काठमाडौं सरुवा गरिएको हो। यसअघि परिसर प्रमुख रहेका एसएसपी विश्वराज अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा पठाइएको छ। जेन–जी आन्दोलनको क्रममा भदौ २३ गते अत्यधिक बल प्रयोग गरेको भन्दै प्रहरीले चर्को आलोचना खेपिरहेका बेला राजधानीसहित विभिन्न स्थानमा ठूलो मात्रामा सरुवा गरिएको हो।
सरकारले काठमाडौं प्रहरी परिसरका एसएसपी, एसपी र डीएसपी स्तरमै फेरबदल गरेको छ। करिब आधा वृत्तका प्रमुख परिवर्तन भएका छन् भने अझै केही डीएसपी सरुवा हुने तयारीमा रहेका छन्। नयाँ प्रमुख थापाले यसअघि उदयपुर र कास्की जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। उनी आफ्नो ब्याचका पहिलो नम्बरका एसएसपी हुन्। यसअघि बुधबार काठमाडौं परिसरका एसपी अपीलराज बोहरा र कुलदीप चन्दलाई पनि अन्यत्र सरुवा गरिएको थियो। उनीहरूको स्थानमा पवन भट्टराईलाई ल्याइएको छ। त्यस्तै, डीएसपी सुन्दर तिवारी पनि परिसरबाट सरुवा भइसकेका छन्।






