वि.सं. १९८२ सालमा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्माण गरिएको काठमाडौं– हेटौंडा रोपवे सञ्चालनको लागि बागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन थालेको छ । २५ वर्षदेखि बन्द रोपवे सञ्चालनमा ल्याउन पुनः बागमती प्रदेश सरकारले स्थानीय तहदेखि संघीय सरकारसँग सम्भाव्यताबारे छलफल चलाएको हो । तर कसको मतहातामा रोपवे सञ्चालनमा ल्याउने भन्ने विषय अहिलेसम्म टुंगिएको छैन ।



वि.सं.२०५४ सालमा रोपवेको मकवानपुर सबस्टेसन ट्रान्सफर्मरमा समस्या देखियो । त्यसको मर्मत गर्न करिब ५ लाख लाग्ने अनुमान थियो । तत्कालीन समयमा सरकारले खर्च व्यवस्थापन नगर्दा यो रोपवे जीर्ण बन्दै गयो । सुरुमा रोपवेमा ३६० वटा डिब्बा सामान ओसार्न प्रयोग गरिएको थियो । २०५५ सालमा १६० वटा डिब्बा थिए । २०११ सालको बाढीले क्षति भएपछि बन्द भयो । पुनः सञ्चालनमा ल्याउन पहिलो पञ्चवर्षीय योजना (२०१३–२०१८) मा विस्तार योजना तयार गरियो । जसअन्तर्गत २०१६ सालबाट मर्मत कार्य सुरुवात गरियो । अमेरिकी सरकारको सहयोगमा ६४ लाख डलर खर्च गरेर रोपवे मर्मत गरिएको थियो । तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत सञ्चालित रोपवे सेवाबाट ९०० जनाले रोजगारी पाएका थिए । रोपवेमा ८ वटा टर्मिनल र ७ वटा स्टेसन छन् । २०५६ सालमा पूर्ण रुपमा रोपवे बन्द भयो । रोपवे बन्द भएको ३ वर्षपछि २०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले रोपवे खारेजी गर्ने निर्णय गर्यो । अहिले रोपवे सञ्चालनको लागि सम्भाव्यता अध्ययनको लागि प्रदेश सरकारले चासो देखाएको छ ।
पूर्व सम्भाव्यता अध्ययनका लागि बागमती प्रदेश सरकारले ५ लाख बराबर बजेट विनियोजन गरेको छ । ‘पूर्व सम्भाव्यता अध्ययनका लागि वार्षिक कार्यक्रममा समेटेर अध्ययन थालिएको छ । रोपवे सञ्चालनमा ल्याउनका लागि बागमती प्रदेश सरकारले २०७६ सालमै चासो देखाएको थियो । तर सञ्चालन गर्नका लागि बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन । फेरि आर्थिक वर्ष २०७८/७९ मा यो रोपवे सञ्चालन सम्भाव्यता अध्ययन गर्न १६ लाख बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन भए पनि बजेटको स्रोत सुनिश्चितता नभएपछि काम अगाडि बढेन । रोपवेलाई सञ्चालनमा ल्याउन राजनीतिक दलहरुले आफ्नो चुनावी एजेन्डा बनाउँदै आएका छन् । २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको चुनावका लागि नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा यो रोपवे सञ्चालन गरिने विषय समेटेको छ । अहिले एमाले र कांग्रेस नेतृत्वको सरकार छ । एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुहुन्छ । तर आफ्नो चुनावी एजेन्डामा समावेश भएको विषय रोपवे पुनः सञ्चालनका लागि आवश्यक पहल गरेको देखिँदैन । तर एमालेका संसादले भने सरकारले चासो देखाए सञ्चालनमा आउने बताएका छन् ।
रोपवेको एउटा डब्बाले हेटौंडाबाट काठमाडौं जाँदा पाँच सय ५० किलो र काठमाडौंबाट हेटौंडा आउँदा दुई सय ७५ किलो बोक्ने गरेको थियो । अहिले अलपत्र रोपवेको जग्गा अतिक्रमण गर्नुका साथै ठाउँ–ठाउँमा सामान चोरी भएका छन् । हेटौंडादेखि काठमाडौंसम्म सयौं ठाउँमा रोपवेको जग्गा अतिक्रमण गरेर घर निर्माण र खेतीपाती गर्न थालिएकोछ । पुरानो रोपवेका पार्टपुर्जा काम लाग्ने अवस्थामा छैन् ।



