काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुन विपरीत काम गर्ने जो सुकैलाई पनि सरकारले नछाड्ने बताएका छन् । विपद् व्यवस्थापन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले अपराध नियन्त्रण र सुशासन कायम गर्न सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिइसकेको जानकारी दिए ।

गृहमन्त्री गुरुङले अपराध नियन्त्रणदेखि शान्ति सुरक्षा कायम गर्ने विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल भएको उल्लेख गर्दै सरकारले कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्ने बताए । उनले सुरक्षा निकायमा राजनीतिक दबाब र चलखेल अन्त्य भएको दाबी गर्दै व्यवसायिक ढंगले काम गर्ने वातावरण निर्माण भइरहेको बताए ।

विपद् व्यवस्थापनको तयारीबारे बोल्दै गृहमन्त्री गुरुङले मनसुनजन्य जोखिमलाई ध्यानमा राखेर सरकारले आवश्यक पूर्वतयारी गरिसकेको बताए । पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्गलगायत विभिन्न सडक अवरुद्ध हुने अवस्थालाई ध्यानमा राख्दै गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच निरन्तर समन्वय भइरहेको उनको भनाइ छ ।

उनका अनुसार बाढी, पहिरो तथा अन्य विपद्का बेला सडक तत्काल खुलाउन आवश्यक पर्ने डोजर तथा अन्य उपकरण कहाँ उपलब्ध छन् भन्ने जानकारी दिने डिजिटल प्रणाली विकास गरिएको छ । राइड सेयरिङ एपजस्तै अवधारणामा आधारित उक्त प्रणालीमार्फत उपकरणको स्थान पहिचान गरी आवश्यक क्षेत्रमा छिटो परिचालन गर्न सकिने उनले बताए ।

गृहमन्त्री गुरुङले विगतका सरकारका कामको केवल आलोचना गर्नेभन्दा पनि सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति वर्तमान सरकारको रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय