काभ्रेपलाञ्चोकको खानीखोला र बेथाचोक गाउँपालिकाको सीमाना थामलेखमा रहेको सामुदायिक वनमा मंगलवार दिउँसो २ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगो निभाउन नेपाली सेना र नेपाल प्रहरी पुगेपनि जंगलको भीर क्षेत्रमा आगो लागेकोले तत्काल निभाउन नसकिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । सुरक्षाकर्मीलाई आगो नियन्त्रण गर्न समस्या भएपनि मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल तथा क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न निर्देशन दिईएको पनि उल्लेख गर्नुभयो ।




आगलागीबारे जिल्ला वन कार्यालयमा सुरक्षा प्रमुख लगायतको बैठक राखिएको छ । बैठकले स्थलबाट निभाउन संभावना नभए हेलिकप्टरमार्फÞत आगो निभाउनका लागि गृहमन्त्रालयमार्फत नेपाल सरकारसँग अनुरोध गरिसकेको जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड़काले प्रहरी चौकी फलामेटार, गोकुले तथा डेबिटारको टोली घटनास्थल पुगेको जानकारी दिनुभयो ।



