काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले कार्यविधि नहुँदा नगरको स्वास्थ्य क्षेत्रमा काम गर्न कठिनाई भएको बताउनु भएको छ । चन्द्रागिरि नगरपालिकाले आयोजना गरेको आ.व. २०८१–०८२ को स्वास्थ्य क्षेत्रको बार्षिक समीक्षा कार्यक्रममा प्रमुख गिरीले छिट्टै कार्यविधि बनाएर स्वास्थ्य ऐन ल्याउने तयारी गरेको बताउनु भएको हो ।

उहाँले अघिल्लो कार्यकालमा अल्पमत भएकै कारण ऐन ल्याउन नसकेको भन्दै अब ८औं वर्षमा ऐन ल्याएर स्वास्थ्य क्षेत्रमा देखिएको जटिलतालाई हल गर्ने उल्लेख गर्नुभयो । उहाँले प्रत्येक वडाको शहरी स्वास्थ्य केन्द्रबाट वडाबासीले सेवा लिइरहेको हुँदा सेवामा कुनै कसुर नछाड्न आग्रह गर्नुभयो । नगरमा भएका केही स्वास्थ्य केन्द्रले वडाबासीलाई आफुले सोचेको भन्दा पनि बढी सेवा र सुविधा प्रदान गर्दैआएको भन्दै अन्य स्वास्थ्य केन्द्रलाई पनि सहकार्य गरी अघि बढ्न सुझाब दिंदै विश्वसनीय सेवा प्रदान गरेर जनताको विश्वास जित्न आग्रह गर्नुभयो । उहाँले नगरबासीलाई गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले आफुले पहल गरिरहेको तर औषधिमा एकाधिकार हुँदा त्यो जालो तोड्न कठिन भइरहेको उल्लेख गर्नुभयो ।
प्रमुख गिरीले अधिकांश स्थानीय तहमा मेयर र प्रमुख प्रशासकीय अधिकृतको मुडमा कर्मचारी सरुवा हुने गरेकोले इमान्दार कर्मचारी सधै पीडित हुने गरेको भन्दै पहुँचको सरुवा बढुवा निस्तेज गरिनु पर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा, सामाजिक विकास समितिका संयोजक घनश्याम लुईटेल, शिक्षा, यूवा तथा खेलकुद शाखाका शिक्षा निर्देशक सुजनराज खनाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतो, जनस्वास्थ्य कार्यालय प्रमुख बसन्त अधिकारी, विभिन्न स्थानीय निकायका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय