काठमाडौं । कीर्तिपुर नगरपालिकाले बिष्णुदेवी अस्पतालमा २४ घण्टे सेवा सुरु गरेको दाबी गरे पनि त्यो दाबी कागज र उद्घाटन मञ्चमै सीमित भएको भन्दै स्थानीय स्तरमा गम्भीर प्रश्न उठ्न थालेका छन्। मेयर कृष्णमान डंगोलद्वारा तामझामका साथ उद्घाटन गरिएको अस्पतालमा नगरबासीले वास्तवमै कहिले, कसरी र कस्तो सेवा पाउने भन्ने विषय अझै अन्योलमै छ।
स्थानीय नागरिक, स्वास्थ्यकर्मी र सरोकारवालाहरूका अनुसार अस्पताल भवन, जनशक्ति व्यवस्थापन, ड्युटी आवर, सेवा सञ्चालन प्रणाली र बजेट खर्चमा स्पष्टता र पारदर्शिता देखिँदैन। २४ घण्टे सेवा भनिए पनि आवश्यक चिकित्सक, नर्स र प्राविधिकको नियमित उपस्थिति छैन, रातिको समयमा सेवा सीमित वा बन्दजस्तै हुने गरेको गुनासो छ। अस्पताल भवन निर्माणमा नगरपालिका स्वयंले बनाएको मापदण्ड पालना भयो कि भएन भन्ने विषय पनि विवादमा परेको छ। पूर्वाधार अधुरो अवस्थामा उद्घाटन गरिएको, आवश्यक उपकरण अपुग रहेको र सेवा सञ्चालन ‘अनकल’ का भरमा गरिएको आरोप स्थानीयले लगाएका छन्। यसले उद्घाटन कार्यक्रम सेवा विस्तारका लागि होइन, प्रचारमुखी राजनीतिक स्टन्ट मात्र भएको हो कि भन्ने आशंका थप बलियो बनाएको छ।



अझ गम्भीर कुरा, अस्पताल व्यवस्थापन समितिमा मेयरका नजिकका आफन्तको मनोनयन गरिएको आरोप खुलेआम उठेको छ। यसले सार्वजनिक स्वास्थ्य संस्थामा राजनीतिक हस्तक्षेप र आफन्तवाद मौलाउँदै गएको संकेत गर्छ। त्यस्तै, राजश्व संकलनमा अझै पनि हाते बिल प्रयोग हुनु, शुल्क संरचना स्पष्ट नहुनु र निजी स्वास्थ्य संस्थासँगको अस्वस्थ प्रतिस्पर्धाले नगरपालिकाको स्वास्थ्य सेवा नीति नै प्रश्नको घेरामा परेको छ।
स्वास्थ्यकर्मीहरू स्वयंले पनि स्पष्ट कार्यविधि, सेवा मापदण्ड र प्रशासनिक निर्णयको अभावले काम गर्न कठिन भइरहेको बताएका छन्। संघीय र प्रदेश सरकारबाट प्राप्त स्रोत र साधनको पूर्ण उपयोग नभएको, उपलब्ध जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन नगरिएको उनीहरूको गुनासो छ।



