काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन कीर्तिपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलमैदानका रूपमा विकास गर्न गुरुयोजना स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरेको हो । गुरुयोजना अनुसार रंगशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले रंगशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान भएकाले यसको आधुनिकीकरण र विस्तारले देशको खेलकुद, पर्यटन र अन्तर्राष्ट्रिय पहिचानमा उल्लेखनीय योगदान पुर्याउने बताउनुभयो । मन्त्रिपरिषद्ले गुरुयोजना बमोजिम जग्गा सम्बन्धी सम्झौता गर्न, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) लाई अन्तिम रूप दिन र दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया सुरु गर्न स्वीकृति प्रदान गरेको छ ।



त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघ (क्यान)बीचको कीर्तिपुर क्रिकेट मैदान प्रयोगसम्बन्धी जग्गा करार सम्झौताको म्याद २०८३ वैशाखमा सकिँदैछ । यस सन्दर्भमा मन्त्रिपरिषद्ले त्रिवि र युवा तथा खेलकुद मन्त्रालय÷राष्ट्रिय खेलकुद परिषद्बीच आवश्यक सम्झौता गर्न निर्देशन दिएको छ, जसअनुसार रंगशालाको जग्गा दीर्घकालीन रूपमा खेल प्रयोजनका लागि सुरक्षित हुनेछ । हाल रंगशालाको पहिलो चरणअन्तर्गतका संरचना निर्माणाधीन छन् । मन्त्रालयका अनुसार आगामी १ मंसिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) अगावै निर्माण कार्य सक्ने लक्ष्यका साथ तीव्रगतिमा काम भइरहेको छ ।



