पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग झण्डै २ घण्टा एक्ला–एक्लै छलफल गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कमिटी बैठकमा असहज देखिनुभयो । उहाँले केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै केही गुनासोसँगै आक्रोश पनि पोख्नुभएको सहभागीहरुले बताएका छन् । पोलिटब्यूरो बैठक सकिएको भोलिपल्टै असाधारण हमला सुरुभएको ओली प्रतिक्रियाले च्यासलमा दुईनेताबीचको संवाद तिक्त भएको संकेत गर्छ ।

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकको पहिलो दिननै राजनीतिक असन्तोष, आरोप र आन्तरिक बेचैनी पोख्नुभयो । उहाँले पार्टी नेतृत्वप्रति अडिगता प्रदर्शन गरेपनि भाषणभित्रको पीडा र सावधानीले स्पष्ट संकेत गर्छ कि एमालेभित्र सबै ठीक छैन । हाम्रो विरुद्ध असाधारण हमला भइरहेको भन्ने ओलीको अभिव्यक्ति केवल बहिर्गामी शक्तिप्रति लक्षित छैन, त्यो आन्तरिक शक्ति संघर्षको सङ्केत पनि हो ।

ओलीले आफू नेतृत्वमा रहेको पोलिटब्युरो बैठकलाई ‘एकढिक्का’ र ‘संकल्पबद्ध’ भन्दै ब्याख्या गर्नुभयो । ‘मिशन ८४’ लाई पार्टीको भावी राजनीतिक मार्गचित्रको रूपमा चित्रण गर्दै उहाँले बहुमत प्राप्त नगरी र एकता बिना नीति लागू नहुने दोहोर्‍याउनुभयो । तर, त्यही बैठकपछिका गतिविधिहरूले आफूहरूकै संकल्पमाथि प्रश्न उठ्न थालेको गुनासोले पार्टीभित्रै कतैबाट योजनाबद्ध ‘विघटन’ को सुरुवात भएको ओलीको आशंका छ । उहाँले आइतबार पोलिटब्यूरो सकिँदासम्म एकढिक्का भएपनि सोमबारदेखि अरु तयारी भइरहेको आशंका गर्न भ्याउनुभयो ।

ओलीका कुरा केवल असन्तुष्टिका नारा मात्र होइनन्, ती वर्तमान एमालेको संरचना, विश्वास, र दीर्घकालीन रणनीतिप्रति उठेका गम्भीर सवाल हुन्। पोलिटब्युरो बैठकमा प्राप्त एकता र उत्साह च्यासलको केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा किन मतलबी र असहज देखिन थाल्योरु भन्दै उहाँको प्रश्न थियो । पूर्वराष्ट्रपति च्यासल आउँदा आफैँ चुनाव गराएर हारेका समूह पनि देखिएको ओलीले टिप्पणी गर्नुभयो । आइतबार अनेरास्ववियु अध्यक्षमा पराजित प्रकाश पौडेल, युवा संघको अध्यक्षमा पराजित सुमन पुरी, पर्वत भण्डारी च्यासल पुगेका थिए ।

ओलीले सोमबार बैठक उद्घाटन गर्दा ‘घुसपैठ’, ‘पेटी बुर्जुवा’ र ‘प्रचण्ड प्रवृत्ति’ जस्ता राजनीतिक विम्बको प्रयोग गर्नुभएको थियो । ति विम्बले एमालेभित्रकै सत्ता समीकरणमा देखिएको छायाँ युद्धको संज्ञा पनि हुन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटबारे उठेको बहसमा ओलीको अभिव्यक्ति झनै तीतो देखियो। उहाँले पूर्वराष्ट्रपतिसँगको भेटलाई सामान्य बनाएपनि त्यसले पछिल्लो राजनीतिक समीकरण, वैकल्पिक ध्रुवीकरण र सत्ता रणनीतिको नयाँ सम्भावना खोलेको छ। बालुवाटार भेट अस्वीकार गरेर च्यासलमै निम्त्याउनु, अनि त्यसलाई सामान्यीकरण गर्नु, ओलीको राजनीतिक चातुर्यको संक्षिप्त संकेत मात्र होइन, उहाँभित्रको विश्वासको संकट पनि हो। तर सञ्चारमाध्यममा बढाईचढाई गरेको भन्दै कसैको प्रवक्ता नबन्न समेत उहाँको सुझाव थियो ।

ओलीको अभिव्यक्तिले एमालेभित्र आन्तरिक सुदृढीकरणभन्दा बढी आत्म(संशय गहिरिँदैछ। बहुमतको आकांक्षा, नेतृत्वप्रतिको आलोचना र बाह्य घेराबन्दीको सन्दर्भमा उहाँले उठाएका विषयहरू पार्टीभित्रको अनुशासन, निर्णय प्रक्रियाको पारदर्शिता र विश्वास संकटका पक्षहरू हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय