नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले केही नेताका कारणले व्यवस्था नै नराम्रो हो भन्न नमिल्ने बताएका छन् । शनिबार पाल्पाको तानसेनमा काङ्ग्रेसको प्रथम सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले व्यवस्था मात्र परिवर्तन गर्ने बहसले अर्को पुस्ताले थप २० वर्ष दुःख पाउने बताएका हुन् । उनले सङ्घीयता, शासकीय स्वरुपका विषयमा भने छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
काङ्ग्रेस व्यवस्थाका विषयमा अल्मलियो भने जनताले दुःख पाउने उल्लेख गर्दै महामन्त्री थापाले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउँदै अगाडि जानुपर्नेमा जोड दिए । विगतदेखि भइरहेको भ्रष्टाचार र कुशासनका कारण नागरिकमा व्यापक असन्तुष्ट रहेको जनाउँदै थापाले अहिले चर्चामा रहेको सुनकाण्ड र एनसेल प्रकरणको पनि काङ्ग्रेसले प्रष्ट जवाफ दिन सक्नुपर्ने बताए । उनले २०४६ पछि सबै उच्च तहमा बसेका व्यक्तिको सम्पत्ति छानविनका लागि आफूले संसदमा प्रस्ताव लैजान लागेको जानकारी समेत दिए ।






