प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु सम्बन्धी मुद्दामा नेपाल अन्यायमा परेको बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको बताएका हुन् । हिमालयहरु मानव सभ्यता, पर्यावरण र जैविक विविधताको आधार हो भन्दै उनले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमालय बढी जोखिममा परेको बताए ।
जलवायु परिवर्तनका कारण अति कम विकसित मुलुकहरु समस्यामा परेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आर्थिक र प्राविधिक सहायता आवश्यक रहेको बताए । उनले विकसित राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले अल्पविकसित मुलुकका लागि अनुमानयोग्य र समतामूलक स्रोत र प्रविधिको व्यवस्था गर्नुपर्ने मागसमेत गरे ।



नेपाल पेरिस सम्झौताको पालना हुनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्नेमा प्रतिवद्ध रहेको बताए । त्यसका लागि ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने र नेपालको जलसम्पदाको उपयोग बढाउने उनको भनाइ छ ।



