काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेल हुनुअघि टिकट बिक्रीमा देखिएको विवादले नेपाली क्रिकेट क्षेत्र तातेको छ। बुकिङ खुल्ने निर्धारित समयअघि नै टिकट ‘सोल्ड आउट’ देखिएपछि क्रिकेटप्रेमी आक्रोशित बनेका छन्। टिकटिङ साझेदार इसेवाको प्रणालीमा बोट प्रयोग गरी टिकट खरिद गरिएको हुन सक्ने दाबीसँगै घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने आवाज उठेको छ। शनिबार साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ। तर बहुप्रतीक्षित फाइनल खेलको चर्चा हुनुपर्ने समयमा टिकट व्यवस्थापनको विवादले प्राथमिकता पाएको छ।

बुकिङ खुल्नुअघि नै देखियो ‘सोल्ड आउट’
फाइनल खेलका टिकट शुक्रबार दिउँसो १ बजेबाट बिक्री खुला गर्ने भनिएको थियो। तर निर्धारित समयअघि नै इसेवाको प्लेटफर्ममा टिकट सकिएको सूचना देखिएपछि दर्शकले प्रश्न उठाएका थिए। केही दर्शकले दिउँसो १२ः५७ बजे नै टिकट ‘सोल्ड आउट’ देखिएको बताएका छन्। निर्धारित समय १ बजेपछि पनि टिकट खरिद गर्न खोज्दा प्रक्रिया पूरा गर्न नसकेको उनीहरूको गुनासो छ। यस घटनापछि सामाजिक सञ्जालमा इसेवा र नेपाल क्रिकेट संघ (क्यान) को टिकट व्यवस्थापनमाथि व्यापक आलोचना भएको छ। टिकट बिक्री प्रक्रिया पारदर्शी नभएको भन्दै दर्शकले छानबिन र जवाफदेहिताको माग गरेका छन्।

९४५ बोट कारोबार भएको दाबी, ५ हजार टिकट खरिद भएको आरोप

यस प्रकरणलाई थप गम्भीर बनाउने गरी अर्थ सरोकारले सार्वजनिक गरेको एक अनुसन्धानात्मक समाचारमा इसेवाका प्राविधिक कर्मचारीलाई उद्धृत गर्दै ९४५ वटा बोट कारोबार भएको दाबी गरिएको छ। उक्त समाचारअनुसार टिकट खरिदका लागि स्वचालित बोट प्रयोग भएको र प्रणालीको सुरक्षा कमजोरीको फाइदा उठाइएको हुन सक्ने बताइएको छ। कर्मचारीहरूको दाबी उद्धृत गर्दै करिब पाँच हजार टिकट यसरी खरिद गरिएको हुन सक्ने उल्लेख गरिएको छ। तर यी विवरण स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन्।

क्यान र इसेवाको दाबी : एकैपटक दुई लाख प्रयोगकर्ताको प्रयास

विवाद चर्किएपछि नेपाल क्रिकेट संघले शुक्रबार आधिकारिक धारणा सार्वजनिक गर्दै टिकट बिक्रीका क्रममा एकैपटक करिब दुई लाख प्रयोगकर्ताले खरिद प्रयास गरेको जनाएको छ। क्यानका अनुसार मैदानको सीमित क्षमताका कारण उपलब्ध टिकट केही मिनेटमै बिक्री भएका हुन्। संघले टिकट खरिद गर्न नपाएका दर्शकसँग असुविधाका लागि क्षमासमेत मागेको छ। यता इसेवाका प्रमुख कार्यकारी अधिकृत नीरज शर्माले द काठमाडौं पोस्टसँग कुरा गर्दै दिउँसो १ बजे टिकट बिक्री सुरु भएको र अन्तिम टिकट २४ मिनेटपछि बिक्री भएको बताएका छन्। उनका अनुसार एकैपटक करिब दुई लाख प्रयोगकर्ताले खरिद प्रयास गर्दा प्रणालीमा अत्यधिक चाप परेको थियो। इसेवाले पहिलो आउनेलाई पहिलो प्राथमिकता दिने प्रणालीअनुसार टिकट बिक्री गरिएको दाबी गरेको छ।

टिकट विवादपछि त्रिवि मैदानमा नाराबाजी
टिकट खरिद गर्न नपाएका क्रिकेटप्रेमीहरू शुक्रबार त्रिवि क्रिकेट मैदानको मुख्य प्रवेशद्वारमा पुगेर विरोध प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारीहरूले इसेवाविरुद्ध नाराबाजी गर्दै टिकट बिक्री प्रक्रियाको छानबिन गर्न माग गरेका थिए। केही समय प्रहरी र प्रदर्शनकारीबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो। द काठमाडौं पोस्टका अनुसार शुक्रबार दिउँसो करिब २ः३० बजे मैदानबाहिर झन्डै ५० जना समर्थक भेला भएर प्रहरीसँग विवाद गरिरहेका थिए। टिकट विवादकै कारण फाइनलअघि हुने कप्तानहरूको पत्रकार सम्मेलनसमेत निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो।

फाइनल खेलमा सुरक्षा व्यवस्था कडा पार्ने तयारी
टिकट विवादले मैदानबाहिर तनाव सिर्जना गरेपछि फाइनल खेलका क्रममा सम्भावित अप्रिय घटना रोक्न सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरिएको छ। क्यानका अधिकारीहरूले थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको बताइएको छ। इसेवाले पनि सम्भावित तोडफोड तथा अप्रिय घटनालाई ध्यानमा राख्दै प्रहरीसँग सुरक्षा व्यवस्थाबारे छलफल गरेको समाचारमा उल्लेख छ। फाइनल खेलमा हजारौँ दर्शकको उपस्थिति रहने अपेक्षा गरिएकाले प्रवेशद्वार व्यवस्थापन, दर्शकको आवागमन र सुरक्षा निगरानीलाई विशेष प्राथमिकता दिनुपर्ने देखिएको छ।

१० हजार क्षमताको मैदानमा सीमित टिकट
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको कुल दर्शक क्षमता करिब १० हजार रहेको क्यानका प्रतियोगिता निर्देशक धीरेन्द्र साउदले बताएका छन्। उनका अनुसार चोभारतर्फको करिब दुई हजार क्षमताको प्यारापिटमा टिकट बिक्री गरिएको छैन। त्रिवितर्फका आठ हजार सिटमध्ये करिब छ हजार टिकट बिक्रीका लागि उपलब्ध गराइएको थियो। यस्तो सीमित टिकट संख्याका कारण ठूलो संख्यामा दर्शक टिकटबाट वञ्चित भएको क्यानको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय