काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका झण्डै ८ हजार घर धुरीलाई प्रतिघरधुरी दैनिक पाँच सय लिटर पानी पुग्ने गरी स्रोतको पहिचान गरेको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग खोल्ने क्रममा पानीको नयाँ स्रोतलाई नगरपालिकाले मंगलबार निरिक्षण गरेको हो ।

सुरुङ मार्गको थानकोटतर्फको टनेलबाट १७ दशमलव ८७ लिटर र सिस्ने खोलातर्फको इकुभईशन टनेलबाट १४ दशमलव ९२ र मुख्य टनेलमा १८ दशमलव ७५ लिटर प्रतिसेकेण्ड पानी उपलब्ध हुनेछ । सुरुङ मार्ग आयोजनाले उक्त पानीको स्रोत नगरपालिकालाई जानकारी गराएसँगै नगरले उक्त स्रोतमा चासो बढाएको हो । सुरुङ मार्ग निर्माणको क्रममा पानीका प्राकृतिक मुलहरु सुकेको र सुरुङ मार्गमा पानी एकीकृत भएकोले सो पानीलाई नगरपालिकाले व्यवस्थापन गर्न लागेको नगरप्रमुख घनश्याम गिरीले जानकारी गराउनु भयो ।

कुल ५१ दशमलव ५४ लिटर प्रतिसेकेण्ड पानी उक्त स्रोतबाट उपलब्ध हुने भएपछि नगरपालिकाले सिस्ने खोला र चामुण्डा मन्दिर नजिक पानी ट्यांङ्की बनाउने भएको छ । सिस्ने खोलामा रहेको ट्याङ्कीबाट पानी लिफ्टिङ गरी चामुण्डा मन्दिरको नजिकै पानी ट्याङ्कीबाट नगरमा पानी वितरण गरिने छ । वडा नम्बर २ लाई पर्याप्त पानी पुर्याई सुरुङ मार्गको पूर्वाधार निर्माण र प्रशासनीक क्षेत्रमा आवश्यक पानी वितरण पश्चात मात्र बाँकी पानी नगरपालिकाको अन्य क्षेत्रमा वितरण गरिने छ ।

पानी वितरणमा पहिलो प्राथमिकता वडा नम्बर दुईलाई दिने र बाँकी खानेपानीको सहज पहुँच नपुगेका वडा १, ३, १२, १३ र १४ मा वितरण गरिने छ । चन्द्रागिरि नगरपालिकाले एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन ऐन २०८० सर्वसम्मतले पारित गरेसँगै खानेपानीमा सबै नगरबासीको पहुँच पुर्याउनको लागि आर्थिक वर्ष २०८०-०८१ को लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै प्रत्येक वडामा विनियोजित बजेट मध्ये १० प्रतिशत बजेट अनिवार्य खानेपानीको लागि छुट्टयाउनु पर्ने व्यवस्था गरेको छ ।

निरिक्षणको क्रममा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाअध्यक्षहरु, जनप्रतिनिधि, प्रशासकीय अधिकृत, प्राविधिकलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय