काठमाडौं । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएपछि सेवा प्रवाहमा समस्या भएको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि अहिले पालिकाले आफ्नो सेवा औरही अस्पतालको भवनबाट दिएको छ ।

कार्यालय सञ्चालनका लागि अर्को विकल्प नहुँदा गाउँपालिकाले अस्पतालको माथिल्लो तला प्रयोग गरेर सेवा दिएको गाउँपालिका अध्यक्ष शिवजी यादवले बताउनुभयो । उहाँले नयाँ भवन लगभग ८ करोड रुपैयाँमा निर्माणाधीन रहेकाले तत्कालका लागि अस्पतालमा नै कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भएको उल्लेख गर्नुभयो ।

अस्पताल र गाउँपालिका एउटै भवनमा सञ्चालन हुन थालेपछि बिरामीले पाउनुपर्ने स्वास्थ्य सेवामा समस्या भइरहेको छ भने अर्कातर्फ गाउँपालिका कार्यालयका कर्मचारीलाई पर्याप्त स्थान अभावले प्रशासनिक काम गर्न कठिनाइ भइरहेको छ ।

अस्पताल प्रमुख उपेन्द्र यादवले गाउँपालिकाको प्रशासनिक कामकाज सञ्चालन हुन थालेपछि अस्पतालका नियमित सेवाहरू प्रभावित भएको बताउनुभयो । पन्ध्र शैय्या क्षमताको अस्पतालमा हाल पाँच शैय्या मात्रै सञ्चालनमा छन् । दैनिक एक सय हाराहारी बिरामी उपचारका लागि आउने गरेकाले भीडभाडका कारण स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्न थप चुनौती देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय