नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ। मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उनको निधन भएपछि बुधबार बिहान उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। कांग्रेस सभापति गगन थापाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। आजै शवयात्रासहित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।
वि.सं. २००१ मा जन्मिएका श्रेष्ठ नेपाली लोकतान्त्रिक आन्दोलनका अग्रणी नेतामध्ये एक थिए। विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय रहेका उनले २०१७ सालपछि निरन्तर राजनीतिक संघर्ष गरेका थिए। २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२–०६३ को जनआन्दोलनमा उनले अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।



श्रेष्ठले २०४२ देखि २०४८ सम्म नेपाली कांग्रेस स्याङ्जाको सभापतिको जिम्मेवारी सम्हालेका थिए। २०४८ सालको आमनिर्वाचनमा स्याङ्जा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वाणिज्यमन्त्री बने। २०५६ सालमा पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कांग्रेसको मुख्य सचेतक तथा पछि वनमन्त्रीको जिम्मेवारी पनि सम्हाले।
कांग्रेस विभाजनपछि उनी नेपाली कांग्रेस ९प्रजातान्त्रिक० को पक्षमा उभिएका थिए र २०५९ देखि २०६३ सम्म कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका थिए। पार्टी एकीकरणपछि कांग्रेसको उपसभापति बनेका श्रेष्ठ २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भए। त्यसपछि उनले भौतिक योजना मन्त्री तथा २०७२ सालमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए। २०७० सालमा उनी समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका थिए।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शोक वक्तव्य जारी गर्दै लोकतन्त्रको स्थापना, शान्ति प्रक्रियाको सफल कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न श्रेष्ठले पुर्याएको योगदान सदैव स्मरणीय रहने बताएका छन्। केही दिनअघि मात्र पार्टीले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो। मनोनयन भएको एक साताभित्रै उनको निधन भएपछि नेपाली कांग्रेसले अनुभवी र समर्पित नेतालाई सदाका लागि गुमाएको छ।



