काठमाडौं । मेरो टोल मै सफा राख्छु, सफा टोल अभियानअन्तरगत चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ ले वडा सरसफाइलाई विशेष ध्यान दिएको छ ।

 

वडा अध्यक्ष संजय सिग्देलले यो अभियानले वडाबासीलाई आफ्नो घर वरपर सफा राख्नुपर्छ भन्ने दायित्व बोध गराउने बताउनु भयो । हप्ताको एक दिन शनिबार वडाले सरसफाइलाई अभियानकै रुपमा अघि सारेको छ । पाँच हप्ताको यो अभियानको तेस्रो हप्तामा वडा कार्यालय परिसरबाट सुरु गरिएको सरसफाइ छापाली हुँदै महादेव मन्दिर र आसपासका बस्तिमा सरसफाइ गरिएको छ । वडा अध्यक्ष सिग्देलले वडामा सरसफाइ त हुन्छ नै यो अभियानले एक आपसमा आत्मियताको भाव र पहिचान बनाउने पनि उल्लेख गर्नुभयो ।

उहाँले वडाको खर्च विना नै यो अभियान सफल हुने दाबी समेत गर्नुभयो । सरसफाइमा स्वस्फूर्तरुपमा वडाबासी सहभागी भई आफैले कुटो, कोदालो, हँसिया, डोको, साबुन लिएर आएको र मास्क, पञ्जा विभिन्न संघसंस्थाले निःशुल्क सहयोग गरेको बताउनु भयो । अध्यक्ष सिग्देलले वडाबासी फोहोर गर्न हुँदैन भनी सचेत भइसकेकोले अब वडामा फोहोरको मात्रा कम हुँदै जाने पनि विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नगरको पहिचान भनेको काठमाडौं भित्रने प्रमुख नाका नागढुंगा देखि कलंकीसम्मको सडक भएको पनि बताउनु भयो । उहाँले केही दिनअघि वडाले आफ्नो वडा भित्र पर्ने उक्त सडकको बीच भागमा रहेको डिभाइडरमा दुबो रोपेको र त्यसले नगरमा राम्रै प्रभाव परेको बताउनु भयो । उहाँले आफुले सुरु गरेको यो कामबाट प्रभावित हुँदै अन्य वडाले पनि आफ्नो क्षेत्र भित्र पर्ने डिभाइडरमा दुबो रोप्ने कामलाई अघि बढाएको उल्लेख गर्नुभयो ।

सरसफाइमा ब्राइट एन्जल स्कुलका विद्यार्थी, स्वास्थ्य चौकीका कर्मचारी, वडाका कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । फोहोर संकलनको लागि मातृभूमि नेपालले सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय