काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर भित्र रहेका दलित समुदायको सशक्तिकरणको लागि पञ्चवर्षीय रणनीति तयार गरेको छ ।

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले डा. बुद्धि नेपालीले प्रस्तुत गर्नुभएको रणनीति दलित समुदायको अध्ययसहितको प्रतिवेदन नगरमै पहिलो भएको बताउनु भयो । उहाँले नगरका दलित समुदायको उत्थानको लागि पञ्चवर्षीय रणनीतिले प्रभावकारी भूमिका खेल्ने र भावी आउने पुस्ताहरुका लागि सहयोगी दस्तावेज हुने उल्लेख गर्नुभयो । प्रमुख गिरीले दलित समुदायको उत्थानको लागि नगरको पहिलो दायित्व भएको र आर्थिक वर्ष २०८१-०८२ को बजेटमा पनि समावेश भएको र उक्त बजेट समुदायको लागि प्रयाप्त नहुँदा आगामी आर्थिक वर्षदेखि संबोधन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले पञ्चवर्षीय रणनीतिले दलित समुदायका व्यक्तिलाई मुल मार्गमा डोर्याउन प्रमुख भूमिका खेल्ने बताउनु भयो । उहाँले दलित समुदायको वास्तविक तथ्यांक आउँदा नगरपालिकालाई पनि काम गर्न सहज भएको बताउनु भयो । उहाँले गत वर्ष नै पञ्चवर्षीय रणनीति ल्याउन खोजिए पनि प्राविधिक कारणले नआएको र यो रणनीतिले नीतिगत रुपमा स्थानीय सरकारलाई मार्ग दर्शन दिनेमा आफु आशावादी रहेको स्पष्ट पार्नुभयो । उहाँले यो रणनीतिलाई पूर्णता दिन ठूलै आर्थिक आवश्यक पर्ने हुँदा नगरपालिकाबाट मात्र सम्भव नभएकोले अन्य संघसंस्थासँग जोडिएर अघि बढ्न आवश्यक रहेको भन्दै नगरको पाठ्यक्रम बनिरहेको अवस्थामा पाठ्य सामग्रीको रुपमा अघि बढाउन यसले सहयोग पुग्ने पनि बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाका सामाजिक शाखाका संयोजक घनश्याम लुइँटेलले दलित समुदायको जीवनस्तरलाई माथि उठाउने उद्देश्यले पञ्चवर्षीय रणनीति नगरले ल्याएको स्पष्ट पार्नुभयो । उहाँले दलित अधिकारको स्थापनाको लागि रणनीति ल्याएर मात्र केही नहुने कार्यान्वयनको पाटोलाई चुस्त बनाउन नगरमा एउटा शाखा नै खोलिनु पर्ने बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाका कार्यपालिका सदस्य सानोकान्छा परियारले पञ्चवर्षीय रणनीतिमा नगरभित्रका दलितहरुको अवस्थाको विषय उजागर भएको उल्लेख गर्नुभयो । उहाँले उक्त रणनीतिमा दलितहरुको वास्तविक अवस्था, समुदायकै उत्थानको लागि आवश्यक रणनीति, दलित समुदायको आर्थिक सशक्तिकरणको उपायलगायतका विषय कार्यान्वयनसम्बन्धी रणनीति समावेश भएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय