काठमाडौं । सूचना प्रविधिको तीव्र विकाससँगै भू–स्थान प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा विस्तार भइरहेका बेला चन्द्रागिरि नगरपालिका वडा नं. ७ ले स्थानीय युवालाई समयसापेक्ष प्राविधिक सीप प्रदान गर्ने उद्देश्यले जीपीएस तथा जीआईएस सम्बन्धी तालिम सञ्चालन गरेको छ । चन्द्रागिरि मिडिया सेन्टरको आयोजना तथा वडा नं. ७ को सहकार्यमा सञ्चालन भएको उक्त तालिमले सहभागीलाई आधुनिक भू–सूचना प्रविधिको व्यावहारिक ज्ञान र प्रयोगात्मक सीप प्रदान गरेको छ ।
कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष रामशरण महतले स्थानीय सरकारको प्रमुख दायित्व केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नभई नागरिकको क्षमता अभिवृद्धि र मानव पुँजी विकासमा समेत केन्द्रित रहेको बताउनुभयो । उहाँले पछिल्ला वर्षहरूमा वडाले विभिन्न सीपमूलक तथा स्वरोजगारमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै जीपीएस–जीआईएस तालिम विशेष गरी युवालाई लक्षित गरी बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।



उहाँले आधुनिक श्रम बजारमा प्राविधिक दक्षता भएका जनशक्तिको माग निरन्तर बढ्दै गएको उल्लेख गर्दै यस्ता तालिमले युवालाई रोजगारी, स्वरोजगार तथा उद्यमशीलताका नयाँ अवसरतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य उमाकुमारी थापाले अहिलेको युगलाई पूर्ण रूपमा डिजिटल प्रविधिद्वारा संचालित युगका रूपमा व्याख्या गर्दै प्राविधिक ज्ञान र सीपबिना कुनै पनि क्षेत्रमा प्रतिस्पर्धा गर्न कठिन हुने बताउनुभयो । उहाँले जीपीएस र जीआईएसलाई केवल प्राविधिक उपकरणका रूपमा नभई आधुनिक समाजको विकास, योजना निर्माण, पूर्वाधार व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, कृषि, वातावरण संरक्षण, शहरी विकास तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने आधारभूत प्रविधिका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।
यस्तै वडा सदस्य भुवनकुमार केसीले स्थानीय तहले नागरिकको क्षमता विकासलाई दीर्घकालीन लगानीका रूपमा लिएको उल्लेख गर्दै सीपमूलक तालिमले व्यक्तिको आर्थिक सशक्तिकरणसँगै समाजको समग्र विकासमा योगदान पुर्याउने बताउनुभयो । उहाँले जीपीएस–जीआईएस जस्ता आधुनिक प्रविधिको ज्ञानले युवालाई सरकारी तथा गैरसरकारी निकाय, विकास आयोजना, इन्जिनियरिङ, सर्वेक्षण, वातावरण अध्ययन, प्राकृतिक स्रोत व्यवस्थापन, नक्सांकन, अनुसन्धान तथा सूचना प्रविधिसँग सम्बन्धित विविध क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न सक्ने बताउनुभयो । उहाँले तालिममा सहभागी युवालाई सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक दक्षतामा रूपान्तरण गर्न आग्रह गर्दै प्रविधिलाई आयआर्जन र आत्मनिर्भरताको माध्यम बनाउन सुझाव दिनुभयो ।

तालिमका प्रशिक्षक बसन्त पाठकले जीपीएस तथा जीआईएस वर्तमान विश्वमा सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको भू–स्थान प्रविधि भएको उल्लेख गर्दै यसको प्रयोग सरकारी योजना, पूर्वाधार विकास, भूमि व्यवस्थापन, सडक तथा खानेपानी आयोजना, वन तथा जैविक विविधता संरक्षण, विपद् व्यवस्थापन, पर्यटन विकास, कृषि आधुनिकीकरणदेखि स्मार्ट सिटी निर्माणसम्म व्यापक रूपमा भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा हाइभिजन कोलोनी समाजका अध्यक्ष ताराबहादुर केसी, हाइभिजन महिला समूहका अध्यक्ष विनिता आले, समाजसेवी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।



