काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. २ ले वडा क्षेत्रको सौन्दर्यीकरण, सार्वजनिक स्थानको संरक्षण तथा सडक सुरक्षालाई प्राथमिकतामा राख्दै सडक किनारमा जथाभावी राखिएका अव्यवस्थित होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको छ ।
वडा कार्यालयले सौन्दर्यीकरण योजना अन्तर्गत संचालन गरिएको यस अभियानमा सडक किनार तथा सार्वजनिक क्षेत्रमा मापदण्डविपरीत राखिएका होर्डिङ बोर्डहरू हटाउने कार्य सुरु गरिएको हो । वडा कार्यालयले अझै बाँकी रहेका सबै होर्डिङ बोर्ड आगामी सात दिनभित्र हटाइने जनाएको छ ।




कार्यवहाक वडा अध्यक्ष चन्द्रकुमारी गिरी बस्नेतले सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा राखिएका होर्डिङ बोर्डले सडकको सौन्दर्यमा असर पार्नुका साथै सवारी चालक तथा पैदलयात्रीको दृश्यता अवरुद्ध गर्ने, दुर्घटनाको जोखिम बढाउने र सार्वजनिक सम्पत्तिको उचित व्यवस्थापनमा चुनौती सिर्जना गर्ने भएकोले हटाउन लागिएको बताउनु भयो । उहाँले यस्ता संरचना हटाएपछि सडक क्षेत्र थप व्यवस्थित, सुरक्षित र आकर्षक बन्ने दाबी गर्नुभयो ।
अभियानमा चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवन बलम्बुबाट खटिएका कर्मचारी, वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि तथा नगर प्रहरीको संयुक्त सहभागिता रहेको थियो । सम्बन्धित निकायको समन्वयमा सञ्चालन गरिएको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने वडा कार्यालयले जनाएको छ ।
यसअघि पनि वडा नं. २ ले नागढुंगा सडक खण्ड आसपास सार्वजनिक स्थान अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियान संचालन गरेको थियो ।



