काठमाडौं । चन्द्रागिरि नगरपालिका अन्तर्गत पिपलामोड–रत्नपार्क बस सेवा सञ्चालनमा आएको छ । उपत्यका विजुली यातायात प्रा.लि.ले सञ्चालनमा ल्याएको बस सेवाको नगर प्रमुख घनश्याम गिरीले शनिबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन गर्दै स्थानीयवासीको लामो समयदेखिको यातायात समस्यालाई समाधान गर्ने दिशामा महत्वपूर्ण कदम चालिएको बताएका छन् ।
चिसापानी, पिपलामोड तथा आसपासका क्षेत्रका बासिन्दाले वर्षौंदेखि नियमित सार्वजनिक यातायात सेवाको अभाव झेल्दै आएका थिए । विशेषगरी बिहान र बेलुका कार्यालय समय तथा विद्यालय, कलेज जाने समयमा सवारीसाधन नपाउँदा स्थानीयले सास्ती खेप्नुपर्ने अवस्था रहेको थियो । सार्वजनिक बस सेवा नहुँदा धेरै यात्रु पठाओ, इनड्राइभ वा महँगो भाडा तिरेर वैकल्पिक यातायात प्रयोग गर्न बाध्य थिए ।



अब पिपलामोड–रत्नपार्क बस सेवा सञ्चालनमा आएपछि स्थानीयको दैनिक आवतजावत सहज हुने अपेक्षा गरिएको छ। यस सेवाले चन्द्रागिरि नगरपालिकाको माथिल्लो भेगलाई काठमाडौंको मुख्य व्यापारिक तथा प्रशासनिक केन्द्र रत्नपार्कसँग प्रत्यक्ष रूपमा जोड्ने भएकाले स्थानीयवासी उत्साहित देखिएका छन् ।
बस सेवा उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख घनश्याम गिरीले नागरिकको आवश्यकता र मागलाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याइएको बताए । उनले नगरपालिकाले स्थानीय बासिन्दाको जीवनस्तर सहज बनाउन आधारभूत सेवा विस्तारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सार्वजनिक यातायातको पहुँच बढाउनु पनि त्यसैको एक हिस्सा भएको बताए । उनले बस सेवा सञ्चालनसँगै स्थानीयको लामो समयदेखिको गुनासो सम्बोधन भएको विश्वास व्यक्त गर्दै आगामी दिनमा सेवाको नियमितता, गुणस्तर र प्रभावकारितामा विशेष ध्यान दिइने जानकारी दिए ।
यसैबीच, बस सेवालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक रुट परमिटको व्यवस्था गरिदिन सम्बन्धित वडा कार्यालय तथा चन्द्रागिरि नगरपालिकाले यातायात व्यवस्था विभागसँग आग्रह गरेको जनाएको छ । रुट परमिट प्राप्त भएपछि सेवा अझ व्यवस्थित, नियमित र कानुनी रूपमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
स्थानीय बासिन्दाले पनि बस सेवा सञ्चालनलाई स्वागतयोग्य कदमको रूपमा लिँदै बस सेवालाई निरन्तरता दिन आग्रह गरेका छन् । बस सेवा उद्घाटनका क्रममा चन्द्रागिरि नगरपालिका वडा नं २ का जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, स्थानीयवासीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।



