काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित वनदेवी मन्दिर परिसरमा ६४ शिवलिंग स्थापनाका लागि विधिवत् शिलान्यास गरिएको छ । नगर प्रमुख घनश्याम गिरी तथा नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले धार्मिक विधिपूर्वक शिलान्यास गर्नुभएको हो ।



शिलान्यास कार्यक्रम वैदिक विधिअनुसार पूजा–अर्चनासहित सम्पन्न गरिएको थियो । भूमिपूजनका क्रममा नगर प्रमुख गिरीले आधारशिला राख्दै प्रसाद अर्पण गर्नुभएको थियो ।
नगर प्रमुख गिरीले वनदेवी मन्दिर क्षेत्र चन्द्रागिरिको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै ६४ शिवलिंग स्थापनाले मन्दिरको धार्मिक गरिमा थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता धार्मिक संरचनाको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
नगर प्रवक्ता खड्गीले स्थानीय आस्था, संस्कृति र परम्पराको संरक्षणका लागि समुदाय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । ६४ स्थापनाबाट मन्दिर क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा समेत विकास हुनसक्ने उहाँको भनाइ थियो । शिलान्याससँगै निर्माण कार्य छिट्टै अघि बढाइने जनाइएको छ ।
कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा श्रद्धालुहरूको उपस्थिति रहेको थियो । वडा नं. ७ मै निर्माण हुन लागेको ६४ शिलान्यासका क्रममा भने वडाका प्रतिनिधिको उपस्थिति थिएन ।



