काठमाडौं । चन्द्रागिरि नगरपालिको प्राविधिक टोलीले वडा नं. ७ को बाणस्थली–त्रिवेणी सडक खण्डमा गएको पहिरोको निरीक्षण गरेको छ । केही दिन अघि आएको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरो गएको थियो ।
निरीक्षणको क्रममा प्राविधकहरुले तत्काललाई पहिरो रोकथाम गर्नुपर्नेमा जोड दिएको वडा नं. ७ का वडासदस्य भुवन कुमार केसीले जानकारी दिए । निरीक्षणका क्रममा नगरपालिकाको प्राविधिक टोलीले लागत अनुमान गरी दीर्घकालिन समस्या समाधानका लागि पहल गरिने बताएका छन् । पहिरो गएको दिन घटनास्थलमा वडाका जनप्रतिनिधि, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरी लगायतले रोकथामको प्रयास गरेका थिए । केही दिन अघि काठमाडौं क्षेत्र नं १० का सांसद प्रदिप विष्टले उक्त क्षेत्रको निरीक्षण गर्दै नगरप्रमुख घनश्याम गिरीलाई समस्या समाधानका लागि आ–आफ्नो स्थानबाट पहल गर्न आग्रह गरेका थिए ।



सो सडकखण्डमा वर्षायाम लागेपछि पहिरो जाने समस्या रहँदै आएको छ । उक्त स्थानमा पहिले पनि जालीको वाल लगाइएको थियो ।
निरीक्षणमा नगरपालिकाका प्राविधिक शाखा प्रमुख सन्तोष कुमार अधिकारी, वातावरण शाखा प्रमुख भद्रा अर्याल वडा नंं -७ का वडा सदस्य भुवनकुमार केसी, वातावरण समितिका संयोजक एवम् वडा नं. ६ का वडा अध्यक्ष सञ्जय सिग्देललगायतको उपस्थिति थियो ।



