काठमाडौं । काठमाडौंको गणेशमान सिंह मार्ग अन्तर्गत पर्ने थानकोट–चित्लाङ सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दिउँसो करिब १ बजेर ४० मिनेटको समयमा सेतोपहरा नजिकैबाट भे ८ प ६४१५ नम्बरको बुलेट मोटरसाइकल सडकबाट तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना घाइते भएको प्रहरी जनाएको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अर्काको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनापछि स्थानीयवासीको सहयोगमा उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।



घाइते हुनेमा बाजुरा घर भई चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ बस्ने वर्ष १६ को दिनेश शाही र निशान आलेमगर रहेका छन् । दुबै जना सेतोपहरामा मोटरसाइकल रोकी मोटरसाइकलमाथी चढेर फोटो खिच्ने क्रममा मोटरसाइकलसहित भिरबाट खसेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये निशान आले मगरको एपीएफ अस्पताल बलम्बु र गम्भीर घाइते दिनेश शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरिक्षक एलिजा गिरीले जानकारी दिनुभयो ।
पछिल्ला वर्षहरूमा सवारी दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा यो सडकखण्ड चिनिँदै आएको छ । उपलब्ध तथ्यांकअनुसार पछिल्ला तीन वर्षभित्र मात्रै यस सडकखण्डमा भएका ठूला दुर्घटनामा कम्तीमा १५ जनाले ज्यान गुमाइ सकेका छन् ।
२०८० पुस २८ : पाँच जनाको ज्यान जाने दुर्घटना
वि.सं. २०८० पुस २८ गते चित्लाङ–थानकोट सडकखण्डमा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । चन्द्रागिरि नगरपालिका–४ स्थित सेतोपहरा नजिकै गुडिरहेको कार सडकबाट तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै ज्यान गएको थियो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
२०८० माघ २९ : सोही स्थानमा पुनः पाँचको मृत्यु
उक्त दुर्घटनापछि पनि सोही सेतोपहरा क्षेत्रमा अर्को गम्भीर दुर्घटना भएको थियो । २०८० माघ २९ गते भएको कार दुर्घटनामा पाँच जनाको ज्यान गएको थियो । सडक साँघुरो हुनु, तीव्र उकालो–ओरालो र घुम्ती धेरै हुनु दुर्घटनाको प्रमुख कारणका रूपमा देखिएको थियो । दुर्घटनापछि सडक स्तरोन्नति र मर्मतका लागि केही समय सडक बन्दसमेत गरिएको थियो ।
२०८१ पुस २८ : पाँच यात्रुको ज्यान जाने दर्दनाक घटना
२०८१ पुस २८ गते थानकोट–चित्लाङ सडकमा फेरि एक गम्भीर दुर्घटना भयो । पाँच जना यात्रु सवार कार सडकबाट करिब पाँच सय मिटर तल खस्दा सबैको ज्यान गएको थियो । उक्त दुर्घटना पछिल्ला वर्षहरूकै सबैभन्दा दर्दनाक घटनामध्ये एक मानिन्छ ।
जोखिम कायमै, सरोकारवालाको चासो
बारम्बार भइरहेका दुर्घटनाले थानकोट–चित्लाङ सडकखण्ड अझै पनि सुरक्षित बन्न नसकेको देखाएको छ । स्थानीयवासीहरूका अनुसार सडक साँघुरो हुनु, सुरक्षा बारको अभाव, तीव्र मोड र उकालो–ओरालो सडक दुर्घटनाका मुख्य कारण हुन् ।
हालै मात्र यही सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका घटनाले जोखिम अझै कायम रहेको पुष्टि गरेको छ । स्थानीयवासी र यात्रुहरूले सडक चौडाइ विस्तार, गार्डरेल जडान, गति नियन्त्रण र नियमित अनुगमनको माग गर्दै आएका छन् ।
सरोकारवाला निकायले दीर्घकालीन समाधानतर्फ ध्यान नदिए दुर्घटनाको जोखिम अझै बढ्ने स्थानीयहरूको चिन्ता छ ।



