काठमाडौं । चन्द्रागिरिको हाईभिजन कोलोनी समाजले आफ्नो क्षेत्रभित्र बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायसँग पहल गर्न आग्रह गरेको छ ।



समाजका अध्यक्ष तारा बहादुर के.सी.द्वारा हस्ताक्षरित पत्रमार्फत् महानगरीय प्रहरी वृत्त थानकोटलाई ध्यानाकर्षण गराइएको हो । पत्रमा हाईभिजन कोलोनी समाजको मुख्य प्रवेशद्वार तथा मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय अगाडि नगर बसहरू पार्किङ गर्ने, गेट अगाडि नै मान्छे पिकअप तथा ड्रप गर्ने जस्ता गतिविधिका कारण दैनिकजसो सडक दुर्घटना भइरहेको उल्लेख गरिएको छ ।
समाजले ती स्थानहरूमा सवारी साधनहरूको अव्यवस्थित रोकावट र लापरवाहीका कारण दुर्घटनाको जोखिम बढेको जनाउँदै दुर्घटना न्यूनीकरणका लागि आवश्यक व्यवस्थापन तथा निगरानी गर्न थानकोट प्रहरी वृत्तसँग आग्रह गरेको छ ।
समाजले अव्यवस्थित पार्किङ नियन्त्रण, ट्राफिक निगरानी कडाइ तथा आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न माग गरेको छ । स्थानीयका अनुसार दैनिकजसो सवारी जाम र जोखिमपूर्ण अवस्था सिर्जना हुने गरेको छ ।
समाजको पत्र बुझ्दै प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी एलिजा गिरीले आवश्यक अनुगमन र कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनु भयो । गिरीले अहिले निर्वाचनका कारण ट्राफिक प्रहरी, प्रहरी जिल्ला जिल्लामा खटिएकाले निर्वाचन लगत्तै उक्त क्षेत्रमा ट्राफिक प्रहरी खटाई दुर्घटना न्यूनीकरण गर्ने पनि बताउनुभयो ।
स्मरण रहोस्, उक्त क्षेत्रमा केही दिनदेखि दिनहुँजसो सवारी दुर्घटना भइरहेका छन् ।



