काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरलाई स्वस्थ, सुरक्षित र नागरिकमैत्री शहरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यअनुसार डिजिटल हेल्थ प्रोफाइल निर्माणका लागि घरधुरीस्तरमा तथ्यांक संकलन अभियान सञ्चालन गरेको छ । नगरपालिकाले हाल विभिन्न वडामा खटिएका कर्मचारीमार्फत घरघरमा पुगेर स्वास्थ्यसम्बन्धी आवश्यक विवरण संकलन गरिरहेको जनाएको छ ।

नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा नगरभित्रका नागरिकको स्वास्थ्य अवस्था, रोगको अवस्था, स्वास्थ्य सेवाको पहुँच, जनस्वास्थ्यका चुनौती तथा आवश्यकताबारे यथार्थ तथ्यांक संकलन गरी एकीकृत डिजिटल स्वास्थ्य अभिलेख तयार पार्ने उद्देश्य रहेको उल्लेख गरिएको छ । उक्त अभिलेखले नगरपालिकालाई भविष्यमा स्वास्थ्यसम्बन्धी योजना, कार्यक्रम तथा नीतिहरू प्रभावकारी रूपमा तर्जुमा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
नगरपालिकाका अनुसार डिजिटल हेल्थ प्रोफाइल निर्माण भएपछि नगर क्षेत्रको स्वास्थ्य अवस्थाबारे वैज्ञानिक र तथ्यमा आधारित विवरण उपलब्ध हुनेछ । यसबाट स्वास्थ्य सेवाको आवश्यकता पहिचान गर्न, जोखिमयुक्त क्षेत्र निर्धारण गर्न तथा लक्षित समुदायसम्म प्रभावकारी सेवा पुर्याउन सहज हुने अपेक्षा गरिएको छ । साथै, स्वास्थ्य क्षेत्रको दीर्घकालीन योजना निर्माण, स्रोत–साधनको उचित व्यवस्थापन तथा नागरिक केन्द्रित सेवा विस्तारमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।

तथ्यांक संकलन कार्यका लागि खटिएका कर्मचारीहरूले घरमा पुगेर परिवार संख्या, स्वास्थ्य अवस्था, दीर्घरोग, स्वास्थ्य सेवाको उपयोगलगायत विभिन्न विषयमा जानकारी संकलन गरिरहेका छन् । नगरपालिकाले सर्वेक्षणका क्रममा नागरिकहरूलाई सही, यथार्थ र पूर्ण विवरण उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीद्वारा हस्ताक्षरित सूचनामा चन्द्रागिरि नगरपालिकालाई आधुनिक, प्रविधिमैत्री तथा स्वास्थ्यका दृष्टिले नमुना नगरका रूपमा स्थापित गर्न डिजिटल हेल्थ प्रोफाइल निर्माण अभियान महत्वपूर्ण कदम हुने उल्लेख गरिएको छ ।

स्थानीय तहबाट सञ्चालित यो अभियानले स्वास्थ्य सेवाको गुणस्तर सुधार, प्रभावकारी व्यवस्थापन तथा नागरिकको जीवनस्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय