चन्द्रागिरि नगरपालिका–१० मा उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा प्रवद्र्धन–२०८३ सुरु भएको छ। परम्परागत नायः खिं बाजाको संरक्षण, प्रवद्र्धन तथा नयाँ पुस्तामाझ यसको महत्व स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको आज एक समारोहबीच उद्घाटन गरिएको हो। कार्यक्रमको उद्घाटन चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले गर्नुभएको हो। उद्घाटन समारोहमा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, जनप्रतिनिधि, आयोजक समितिका पदाधिकारी तथा विभिन्न बाजा समूहमा आबद्ध कलाकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी विभिन्न बाजा समूहका कलाकारले नायः खिं बाजासहित मौलिक सांस्कृतिक बाजाको प्रस्तुति दिएका थिए। परम्परागत बाजाको संरक्षण तथा पुस्तान्तरणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने आयोजकको भनाइ छ।नायः खिं नेवार समुदायको मौलिक सांस्कृतिक तथा धार्मिक परम्परासँग जोडिएको महत्वपूर्ण बाजाका रूपमा लिइन्छ। विभिन्न जात्रा, पर्व, धार्मिक तथा सांस्कृतिक समारोहमा यसको प्रयोग हुँदै आएको छ। आधुनिक संगीत तथा जीवनशैलीको प्रभावका कारण मौलिक बाजाप्रति नयाँ पुस्ताको आकर्षण घट्न नदिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।



कार्यक्रममा उपत्यकाका विभिन्न स्थानबाट आएका बाजा समूहको सहभागिता रहेको छ। सहभागी कलाकारहरूले परम्परागत धुन तथा सांस्कृतिक प्रस्तुतिमार्फत नायः खिं बाजाको मौलिकता प्रदर्शन गरेका थिए।उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहभागी जनप्रतिनिधि तथा आयोजकले स्थानीय कला, संस्कृति र मौलिक बाजाको संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। नयाँ पुस्तालाई परम्परागत बाजा तथा सांस्कृतिक सम्पदासँग जोड्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको थियो।
चन्द्रागिरिमा दोस्रोपटक आयोजना गरिएको यस कार्यक्रमले नायः खिं बाजाको संरक्षणसँगै विभिन्न बाजा समूहबीच सांस्कृतिक आदानप्रदान तथा सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।कार्यक्रममा स्थानीय बासिन्दा तथा संस्कृतिप्रेमीहरूको समेत सहभागिता रहेको छ। आयोजकका अनुसार आगामी दिनमा पनि मौलिक कला, संस्कृति र परम्परागत बाजाको संरक्षण तथा प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।



