काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंको आयोजना तथा चन्द्रगिरि नगरपालिकाको समन्वयमा चन्द्रागिरि वडा नं. ८ मा प्रजनन् स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाबीच प्रजनन् स्वास्थ्यसँग सम्बन्धित चुनौती, समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो ।
विशेषगरी महिलाको प्रजनन् स्वास्थ्यसँग सम्बन्धित गम्भीर रोग तथा समस्याबारे समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रियामा पाठेघर मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसव फिस्टुला, बाँझोपनलगायत पाँच महत्वपूर्ण विषयमा केन्द्रित भएर छलफल गरिएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मीहरूले नेपालमा महिलाहरू अझै पनि प्रजनन् स्वास्थ्यसम्बन्धी समस्यालाई खुलेर राख्न हिच्किचाउने अवस्था रहेको उल्लेख गर्दै समयमै परीक्षण र उपचार नहुँदा जटिलता बढ्दै गएको बताएका थिए । उनीहरूले विशेषगरी पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सर जस्ता रोगको प्रारम्भिक परीक्षण र नियमित स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउन स्थानीय तहले समुदायस्तरमै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।



वक्ताहरूले प्रसव फिस्टुला जस्तो समस्या ग्रामीण तथा विपन्न समुदायमा अझै पनि चुनौतीका रूपमा रहेको उल्लेख गर्दै सुरक्षित मातृत्व सेवा, नियमित गर्भ परीक्षण तथा स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउन आवश्यक रहेको बताएका थिए । त्यस्तै बाँझोपनसम्बन्धी समस्या पनि पछिल्लो समय बढ्दो चिन्ताको विषय बनेको भन्दै यसलाई सामाजिक लाञ्छनाको रूपमा नभई स्वास्थ्य समस्याको रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरिएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जग्दीशचन्द्र नेपालीले स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले विकास निर्माणभन्दा पनि स्वास्थ्य क्षेत्रलाई विशेषरुपमा लिनुपर्नेमा जोड दिनुभयो । प्रजनन् स्वास्थ्यका विषयलाई समुदायस्तरसम्म पु¥याउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख समेत गनुृभयो ।
वडा नं. ८ का वडा अध्यक्ष प्रल्हाद रिजालले महिलाको स्वास्थ्य संरक्षणका लागि वडा तहबाट समेत विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो । उहाँले समुदायमा अझै पनि प्रजनन् स्वास्थ्यसम्बन्धी भ्रम र लाजका कारण धेरै समस्या लुकाइने गरेको उल्लेख गर्दै खुला छलफल र जनचेतना आवश्यक रहेको औल्याउनुभयो । उहाँले समाजमा प्रजनन् स्वास्थ्यका विषयलाई संवेदनशील रूपमा उठाउनुपर्ने आवश्यकता औंल्याउँदै विद्यालय, समुदाय र स्वास्थ्य संस्थाबीच समन्वय गरेर जनचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो ।
चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतोले प्रजनन् स्वास्थ्यसम्बन्धी सेवामा पहुँच विस्तार गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले महिलाहरूलाई नियमित स्वास्थ्य परीक्षण, खोप तथा परामर्श सेवामा सहभागी हुन आग्रह गर्दै रोग लागेपछि भन्दा रोग लाग्न नदिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सहभागीहरूले महिलाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्य संस्था, नागरिक समाज र सञ्चार क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताउँदै प्रजनन् स्वास्थ्यका संवेदनशील विषयमा खुला बहस तथा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने धारणा राखेका थिए ।



