काठमाडौं – चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय प्रथम नगर कप फुटसल प्रतियोगिता–२०८३ सुरु भएको छ। चन्द्रागिरि विकास मञ्चको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा नगर क्षेत्रका १८ टोली सहभागी भएका छन्। चन्द्रागिरि नगरपालिका–६ स्थित फुटसल कोर्टमा आयोजित प्रतियोगिताको नगर प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख गिरी र उपप्रमुख श्रेष्ठले खेलकुदले युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्नुका साथै उनीहरूमा अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने बताए। उनीहरूले स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान र प्रवर्द्धनका लागि यस्ता प्रतियोगिता महत्त्वपूर्ण हुने धारणा राख्दै सहभागी टोलीलाई सफलताको शुभकामना दिएका थिए। प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाभित्रका १८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।



एकै दिनमा सम्पन्न हुने गरी आयोजना गरिएको प्रतियोगिताले नगरभित्र फुटसल खेलको विकास र विस्तार गर्नुका साथै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ। पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको फुटसल खेललाई स्थानीय तहमा व्यवस्थित रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यस्ता खेलकुद गतिविधिले नयाँ खेलाडी उत्पादन गर्न, खेलप्रति युवाको आकर्षण बढाउन र नगरभित्र खेलकुद संस्कृतिको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामार्फत चन्द्रागिरि नगरपालिकाभित्रका खेलाडीबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना अभिवृद्धि हुने आयोजकले जनाएको छ।



