काठमाडौं । चन्द्रागिरि नगरपालिकामा स्थानीय तह स्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु भएको छ । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१÷०८२ मा नगरका स्वास्थ्य क्षेत्रमा भएका कार्य, सफलता, असफलता, चुनौती लगायका विषयमा समीक्षा हुनेछ । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख घनश्याम गिरीले नगरवासीले आफ्नै ठाउँबाट सेवा पाउन् भन्ने आफ्नो उद्देश्य रहेको बताउनु भयो । उहाँले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै कम्युनिटी हेल्थको अवधारणा ल्याएको पनि जानकारी दिनुभयो । उहाँले एक वडा एक डाक्टर अहिले प्रभावकारी रुपमा सञ्चालन भइरहेकोमा खुशी व्यक्त गर्नुभयो । नगरप्रमुख गिरीले नगरवासीलाई रोग लागेपछि उपचार खोज्नुभन्दा रोग नै लाग्न नदिनतर्फ सचेत हुन आग्रह पनि गर्नुभयो ।
नगर उपप्रमुख बसन्ती श्रेष्ठले नगरवासीको स्वास्थ्यबारे नगरपालिका चिन्तित रहेको बताउनुभयो । एक वडा एक डाक्टरले नगरवासीको स्वास्थ्य अवस्था नजिकबाट नियाल्न सकेको उहाँको भनाइ छ । हरेक विरामीको घरघरका फाइल र विरामीको प्रत्यक्ष निगरानी पनि नगरपालिकाले गरिरहेको उपप्रमुख श्रेष्ठको भनाइ छ ।



दुई दिन चल्ने समीक्षा कार्यक्रममा नगर क्षेत्रका स्वास्थ्य संस्थाहरुको प्रगतीको तुलनात्मक विश्लेषण, गत आर्थिक वर्षको समीक्षामा पहिचान भएका समस्याहरुको प्रगतीको विश्लेषण, कार्यक्रमहरुबाट भएका उपलब्धी र देखिएका समस्याहरु पहिचान गरी सुधार गर्नुपर्ने पक्ष चालु आ.ब.मा सच्चाउने बताइएको छ । यसैगरी सञ्चालित कार्यक्रमले सम्बन्धित क्षेत्रका बासिन्दा, विशेष गरी महिला तथा बञ्चितिमा परेका समुदायहरुलाई उपलब्ध स्वास्थ्य सेवाको उपयोग र उनीहरुलाई सेवा उपभोग गर्न भोग्नुपरेको अवरोधहरु पत्ता लगाई सम्वोधन लागि रणनीति बउनाउने पनि समीक्षा कार्यक्रमको विषय रहेको छ । कार्यक्रममा नगरका १५ वटै वडाका वडाअध्यक्ष, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । कार्यक्रम भोलि समापन हुनेछ ।



