काठमाडौं । मंगलोदय बहुमुखी क्याम्पसले आफ्नो ३५औं स्थापना दिवस मनाएको छ ।




तत्कालिन शिक्षा प्रेमी, उद्योगपति, व्यापारी, समाजसेवी तथा कृषकहरुको सहयोगमा २०४५ सालमा क्याम्पस संचालन गरिएको थियो । आर्थिक रुपले पिछडिएका व्यक्तिहरुका छोराछोरीलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले यो क्याम्पसको स्थापना गरिएको थियो । त्रिभुवन विश्व विद्यालयबाट २०४५ साल भाद्र १ गतेबाट स्वीकृत लिई ७ जना विद्यार्थीबाट सुरु गरिएको क्याम्पस आइ.ए., आइकमको कक्षा संचालन गर्दै अहिले स्नाकोत्तर तह एमबीएससम्मको पढाई हुने गरेको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले अबको शिक्षालाई संस्कार र प्रविधिसँग जोडर लानु पर्ने बताउनु भयो । उहाँले स्वर्गीय भक्तलाल श्रेष्ठलगायतको टिमको अथक प्रयासबाट सुरु गरिएको क्याम्पस आजको दिनसम्म आइपुग्दा एउटा उचाईमा पुग्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले क्याम्पसको लागि चाहिने आवश्यक सामग्री वडा तथा नगरपालिकामा माग गर्न पनि सुझाव दिनुभयो ।

क्याम्पस प्रमुख गोकुलप्रसाद सिग्देलले २०४५ सालदेखि हालसम्म क्याम्पसबाट हजारौं विद्यार्थी उत्तीर्ण भई राष्ट्रको उच्च तहमा पुग्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले विगतका वर्षभन्दा शैक्षिक गुणस्तर बृद्धि भएको र शिक्षाको गुणस्तर बृद्धिका लागि हरेक विषयको एकाई परीक्षा लिने र प्रत्येक तीन तीन महिनामा प्रथम, दोस्रो र तेस्रो आन्तरिक परीक्षा र प्रि–बोर्ड परीक्षा संचालन गर्दैआएको बताउनु भयो । सिग्देलले ३६औं वर्षमा प्रवेश गरेको अवसरमा क्याम्पस प्रशासक, समाजसेवी, सहयोगीहरुको उच्च सम्मान गर्र्दै क्याम्पसको विद्यमान चुनौति, समाधानका उपाय र क्याम्पसका भावी कार्यक्रमको विषयमा स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा शिक्षाकर्मी एवम् पूर्व शिक्षक सुरेन्द्र खड्काले आफुले अब अध्यापन गराउन नसक्ने तर अन्य सहयोगलाई भने निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बाबु गणेश बहादुर खड्का र आमा हरिमाया खड्काको स्मृतिमा क्याम्पसमा सुरेन्द्र खड्का अक्षयकोष खडा गर्दै गरिब, विपन्न, जेहेन्दार विद्यार्थीका लागि छात्रबृत्ति प्रदान गर्दै आउनु भएको छ । कार्यक्रममा कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीको स्वागत गरिनुका साथै १७ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



