काठमाडौं । चन्द्रागिरि नगरपालिकाको १२औं नगरसभाले चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक २०८० सर्वसम्मतले पारित गरेपछि नगर क्षेत्रमा रहेका उपभोक्ता समिति आन्दोलित भएका छन् ।




नगरस्तरीय खानेपानी उपभोक्ता समन्वय समितिले समितिहरुको अस्तित्व समाप्त पार्दै समिति मातहत रहेका सम्पूर्ण चल अचल सम्पत्ति नगरले नियन्त्रणमा लिन खोजेको भन्दै मेयर घनश्याम गिरीलाई विरोध पत्र बुझाएका हुन् । समितिका संयोजक पुरुषोत्तम उदासले नगरले एकीकृतको परिभाषालाई लत्याउँदै ऐन ल्याएकोले त्यसलाई स्वीकार्न नसकिने बताउनु भयो । उहाँले देशभर ४३ हजार खानेपानी उपभोक्ता समिति रहेको र त्यसलाई निस्तेज पार्ने उद्देश्यले नगरप्रमुख गिरीले उक्त विधेयक ल्याएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले आम उपभोक्ताहरुको माग सम्बोधन नगरी बल प्रयोग गरी एकाधिकार जमाउने खोजिए प्रतिकार गर्ने पनि चेतावनी दिनुभयो ।

विरोध पत्र बुझ्दै नगरप्रमुख घनश्याम गिरीले प्रारम्भिक चरणको ऐन बनेको र कार्यविधि, नियमावली र निर्देशिका तयार गरिंदा समितिले उजागर गरेका मागको विषयमा छलफल गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकामा दर्ता भएका वा नभएका गरी तीन दर्जन उपभोक्ता समिति रहेको छ । जसमा २५ वटा समितिले आजको विरोधमा ऐक्यवद्धता जनाएका थिए ।



