काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि सूचिकृत ५७ जना मेलमिलापकर्तालाई शपथ ग्रहण गराउँदै स्थानीय तहमा न्यायिक सेवालाई अझ प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेलमिलापकर्ताहरूलाई शपथ गराइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले स्थानीय सरकारको प्रमुख जिम्मेवारीमध्ये नागरिकलाई सहज र छिटो न्याय प्रदान गर्नु पनि एक महत्वपूर्ण दायित्व रहेको बताउनुभयो । उहाँले चन्द्रागिरि नगरपालिका देशभरका स्थानीय तहमध्ये न्यायिक सम्पादनको क्षेत्रमा अब्बल पालिकाका रूपमा स्थापित हुन सफल भएको दाबी गर्दै त्यसको प्रमुख श्रेय न्यायिक समिति र मेलमिलापकर्ताहरूको अथक मेहनत, इमानदारी तथा जिम्मेवारीपूर्ण कार्यशैलीलाई जाने बताउनुभयो ।

प्रमुख गिरीले स्थानीय तहमा उत्पन्न हुने अधिकांश विवादहरू मेलमिलापमार्फत समाधान हुँदा सामाजिक सद्भाव कायम हुनुका साथै अदालतसम्म पुग्ने अनावश्यक झन्झट र खर्चसमेत कम हुने उल्लेख गर्नुभयो । उहाँले मेलमिलापकर्ताहरूले निष्पक्षता, पारदर्शिता र कानुनी मापदण्डलाई आत्मसात गर्दै समुदायमा न्यायको अनुभूति दिलाउने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । “मेलमिलापकर्ताको लगनशीलता र सक्रियताका कारण चन्द्रागिरि नगरपालिका न्यायिक क्षेत्रको उत्कृष्ट अभ्यास प्रस्तुत गर्न सफल भएको छ,“ उहाँले भन्नुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक बसन्ती श्रेष्ठले स्थानीय स्तरमा उत्पन्न हुने सामान्य प्रकृतिका विवादहरूलाई मेलमिलापको माध्यमबाट समाधान गर्न सकिए समाजमा आपसी सम्बन्ध थप सुदृढ हुने बताउनुभयो । उहाँले मेलमिलापकर्ताहरूलाई नागरिकको विश्वास जित्ने गरी निष्पक्ष, संवेदनशील र जिम्मेवार ढंगले आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले न्यायिक समितिले विगतका वर्षहरूमा मेलमिलापकर्तासँग प्रभावकारी समन्वय गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको स्मरण गराउँदै मेलमिलापकर्ताहरूले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि यही समर्पण र जिम्मेवारीका साथ काम गर्दै नगरवासीलाई अनावश्यक कानुनी झन्झट, समय र आर्थिक भारबाट जोगाउन सबै मेलमिलापकर्ताले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरूले स्थानीय तहमा उत्पन्न हुने विवादलाई कानुनी प्रक्रिया अघि बढ्नुअघि नै आपसी समझदारी, संवाद र सहमतिका आधारमा समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूले समुदायमा मेलमिलापको संस्कृतिलाई अझ सुदृढ बनाउँदै शान्तिपूर्ण समाज निर्माणमा योगदान पु¥याउने बताएका थिए ।

चन्द्रागिरि नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा सूचिकृत मेलमिलापकर्तालाई शपथ गराउने तथा आवश्यक अभिमुखीकरणमार्फत उनीहरूको क्षमता अभिवृद्धि गर्दै आएको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनको भावना अनुरूप न्यायिक समितिमार्फत नागरिकलाई छिटो, सरल, सुलभ र प्रभावकारी न्याय सेवा उपलब्ध गराउने लक्ष्यका साथ मेलमिलाप प्रणालीलाई थप सुदृढ बनाउँदै लैजाने जनाएको छ ।

कार्यक्रममा नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपाली, न्यायीक समितिका सदस्य रत्न लाल श्रेष्ठ सीता सत्याल मण्डल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय