काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आयोजना गरेको माध्यमिक तह कक्षा ९ र १० स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विद्याश्री एकेडेमी प्रथम भएको छ । चन्द्रागिरि नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखाले आयोजना गरेको माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विद्याश्री एकेडेमी प्रथम भएको हो ।




कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगर क्षेत्र भित्र रहेका विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धा गराउँदा स्कुलको समेत परीक्षा हुने बताउनु भयो । उहाँले नगरमा संचालित सामुदायिक विद्यालय होस् या संस्थागत विद्यालय विद्यार्थीहरुमा आपसमा भिडन्त गराउँदा अध्ययन गर्ने प्रतिस्पर्धा बढ्दै जाने समेत बताउनु भयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले यस्ता किसिमको कार्यक्रमले विद्यार्थीहरुमा बौद्धिकताको विकास हुने बताउनु भयो । उहाँले अहिलेका साना भाईबहिनीहरुले नै भविष्यमा देशको रुपरेखा कोर्ने भएकोले गलत बाटो नसमाउन आग्रह गर्नुभयो । उपप्रमुख श्रेष्ठले प्रतियोगिताले विद्यार्थीहरुको ज्ञान अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धात्मक भावना, अनुशासन र आपसी सहकार्यलाई प्रवद्र्धन गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख सुजनराज खनालले प्रतियोगितामा विद्याश्री एकेडेमी प्रथम, चन्द्रागिरि र हाई न्यू भिजन विद्यालय द्वितीय, माउन्ट सगरमाथा ब्रिलियन्ट विद्यालय र विष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालय क्रमशः तृतीय र सान्त्वना स्थान प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले विजयी विद्यार्थीलाई असोज २ गते शिक्षा दिवसको दिन मेडल, ट्रफी, नगद र प्रमाणपत्रले सम्मान गरिने बताउनु भयो ।

ब्राइट होराइजन चिल्ड्रेन्स होम एकेडेमीमा भाद्र १३ र १४ गते संचालन गरिएको प्रतियोगितामा नगर क्षेत्रका ३७ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रारम्भिक चरणमा चार समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएकोमा उत्कृष्ट प्रदर्शन गर्ने आठ विद्यालय अन्तिम चरणमा प्रवेश गरेका थिए ।

कार्यक्रममा कार्यपालिकाका सदस्य, वडा अध्यक्ष, जनप्रतिनिधि, चन्द्रागिरि नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखाका वरिष्ठ विद्यालय निरीक्षक बुद्धिप्रसाद भट्ट, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।



