काठमाडौं । संघीय राजधानी भित्रने चार नाकामध्ये एक प्रमुख नाका चन्द्रागिरि नगरपालिकामा पर्दछ । त्रिभुवन राजमार्गको नामबाट चिनिने उक्त नाकाको नागढुंगादेखि नैकाप बल्खु खोलासम्मको बाटो दुर्घटनाको हिसाबले उच्च जोखिममा रहेको पाइन्छ ।

यस सडक खण्डमा आर्थिक वर्ष २०७९/८० मा कुल १८४ वटा सवारी दुर्घटना भएका छन् । जसमा ९ जनाको मृत्यु भएको छ । मृतकमध्ये ५ पुरुष र ४ जना महिला रहेका छन् । कुल दुर्घटनामा १०७ जना घाइते भएका छन् । ७३ पुरुष, २८ जना महिला र ६ बालबालिका समेत घाइते भएका छन् । माघ महिनामा चन्द्रागिरिको गुर्जुधारामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा एक महिलाको मृत्युभएको थियो । त्यस्तै चैत महिनामा चन्द्रागिरिको सिप्रदी नजिक स्कुटर दुर्घटना हुँदा पुरुष चालकको मृत्यु भएको थियो ।

२०८० बैशाखमा सिम्चाफाँट अगाडी मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको र सोही महिनामा दुरसंचार गेट अगाडी रोकि राखेको ट्रिपरमा ट्याक्सी ठोक्किदा ट्याक्सी चालकको मृत्युभएको थियो ।

जेठ महिनामा थानकोटको सरस्वतीथानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो । सोही महिनामै नेपाल आयल निगम थानकोट डिपो जाने गेट अगाडी मोटरसाइकल दुर्घटनामा श्रीमान् र श्रीमतीको मृत्युभएको थियो । यही महिनामै गुर्जुधारामा भएको अर्को मोटरसाइकल दुर्घटनामा मोटरसाइकल पछाडी सवार महिलाको मृत्यु भएको थियो ।

असार महिनामा चन्द्रागिरि नगरपालिकाको बल्खु खोलाको पुलमा मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल पछाडि बस्ने एक महिलाले ज्यान गुमाएकी छिन् भने मोटरसाइकल चालक गम्भीर घाइते भई उपचाररत छन् ।

यो सडक खण्डमा २०७९ साउन महिनादेखि २०८० असार महिनाको मध्येसम्म कुल १४३ वटा ठूला सवारी साधन दुर्घटनामा परेका छन् । साथै १०१ वटा चार पांग्रे सवारी साधन दुर्घटना र ९२ वटा दुई पांग्रे सवारी दुर्घटनामा परेका छन् ।

राजमार्गमा तीब्र गतिमा, गलत साईडबाट ओभरटेक, सडक क्षेत्रमा विद्युत् तथा खानेपानी पाइपलाईन विस्तारका क्रममा भएको लापरवाहीको मुख्य कारण दुर्घटना हुन पुगेको ट्राफिक प्रहरी प्रभाग थानकोटले बताएको छ ।

सडक खण्डमा ट्राफिक सम्बन्धी सचेतनात्मक सूचक नहुँदा पनि सडक दुर्घटना दिनप्रतिदिन बढ्दै गएको छ । सडकमा जेब्रा क्रसिङ, रोड मार्किङ, ट्राफिक लाईट, सचेतनात्मक प्लेटको व्यवस्था गर्न सके दुर्घटना कम हुनेछ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय