काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १२ मा ब्याटमिन्टन कबर्ड हलको उद्घाटन गरिएको छ । २०७७ सालबाट निर्माण सुरु भएको कबर्ड हलको शुक्रबार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गर्नुभएको हो । कबर्ड हल निर्माण गर्नु ठूलो कुरा नभएको भन्दै उहाँले स्तरोन्नती र ममर्त सम्भार महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । मन्त्री लिम्बुले खेलकुदले नै नेपाललाई संसारमा चिनाउने भन्दै विद्यालयस्तरबाटै खेलकुदको प्रवद्र्धन गर्न मन्त्रालय लागि परेको पनि जानकारी गराउनु भयो ।

उहाँले आगामी वर्ष मन्त्रालयले साहसिक पर्वतीय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको पनि बताउनुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगर खेलकुद विकासका लागि लागीपरेको बताउनु भयो । उहाँले खेलकुद क्षेत्रको विकास लागी नगरले नगरभित्र फुटबल ग्राउण्ड, कबर्ड हल, फुटसललगायतका पूर्वाधार प्रत्येक वडामा निर्माण गरेको उल्लेख गर्नुभयो ।

नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठले स्वास्थ्यका लागि खेलकुद, मित्रताको लागि खेलकुद भन्ने नारा बोकेर नगरपालिका खेल क्षेत्रलाई अघि बढाउन लागि परेको बताउनु भयो । उहाँले खेलकुद क्षेत्रमा पुरुष मात्र नभई महिला पनि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उपमेयर श्रेष्ठले देशमा बढ्दै गएको आर्थिक मन्दीले यो वर्ष नगरमा खेल क्षेत्रलाई प्रयाप्त रकम छुट्याउन नसकेको पनि उल्लेख गर्नुभयो ।

वडा नं. १२ का अध्यक्ष न्हुछे महर्जनले उद्घाटन भएको कबर्ड हललाई अनुशासितरुपमा अघि बढाई दीगो बनाउन आग्रह गर्नुभयो । उहाँले हामी विभिन्न देशको खेलाडीलाई चिन्छौं तर आफ्नै देशका खेलाडीलाई चिन्दैनौ भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले खेलाडी राष्ट्रको सान भएकाले आफ्नो ठाउँ र नेपाल चिनाउन यही क्षेत्रबाट राष्ट्रिय खेलाडी जन्मनु पर्नेमा जोड दिनुभयो । उहाँले यसको लागि वडाले र आफुले सक्दो सहयोग गर्ने पनि दाबी गर्नुभयो ।

पूर्वअध्यक्ष प्रकाश श्रेष्ठले २०७७ सालमा बजेट विनियोजन गरी निर्माणको थालनी गरिएको कबर्ड हलको अहिले लगभग ९५ प्रतिशत काम सम्पन्न भईसकेको छ । कार्यक्रममा कबर्ड हल निर्माणका क्रममा सहयोग गर्ने विभिन्न व्यक्तिलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय