काठमाडौं । चन्द्रागिरि नगरपालिका–१३ (पुरानो नैकाप) ले स्थानीयस्तरमै फोहोरको दिगो व्यवस्थापन र ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउने उद्देश्यसहित कम्पोष्ट बिन तथा लौरो वितरण गरेको छ ।
वडाले घरघरमा उत्पन्न हुने कुहिने फोहोरलाई स्रोतमै वर्गीकरण गरी उत्पादनमूलक कम्पोष्ट मलमा रूपान्तरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय बासिन्दालाई कम्पोष्ट बिन उपलब्ध गराएको हो । वडा कार्यालयले यस अभियानले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै वातावरण संरक्षण, सरसफाइ प्रवद्र्धन र जैविक मल उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने बताएको छ ।



यसै क्रममा वडाभित्रका ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई दैनिक हिँडडुलमा सहजता प्रदान गर्ने उद्देश्यले सहायतास्वरूप लौरो पनि वितरण गरिएको कार्यवाहक वडाध्यक्ष राजकुमार बोगटीले जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै उहाँहरुको दैनिक जीवनलाई थप सुरक्षित र सहज बनाउने उद्देश्यले यस्ता कार्यक्रम वडाले संचालन गरेको बताउनु भयो ।
नैकापस्थित पुल्डोल शहरी स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली, जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
चन्द्रागिरि–१३ ले वातावरणमैत्री फोहोर व्यवस्थापन र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्दै यस्ता जनमुखी अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।



