काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ बालश्रम मुक्त वडा घोषणा भएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरमा अब केही वडामात्र बालश्रम मुक्त वडा घोषणा हुन बाँकी रहेकोले बाँकी वडा पनि छिट्टै घोषणा गर्ने तयारीमा रहेको बताउनु भयो । नगरको १५ वटै वडामा बालमैत्री सुशासन व्यवस्थापन भएपछि नगरपालिकाले नै बालश्रम मुक्त नगर भएको घोषणा गर्ने पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठले बालश्रम मुक्त वडा घोषणा गर्दैगर्दा वडा र नगरपालिकाको थप जिम्मेवारी थपिएको बताउनु भयो । उहाँले नेपाली बालबालिका भन्दा पनि छिमेकी राष्ट्र भारतबाट आएका बालबालिकालाई श्रममा लगाएको पाईएकोले अनुगमन कार्यलाई प्रभाकारी बनाउन सुझाव दिनुभयो ।




यस्तै चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता तथा वडा चारका वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले चन्द्रागिरि नगरपालिकाले बालबालिका लक्षित विभिन्न कार्यक्रम गर्दै आएपनि यथोचित निगरानीको अभावले कार्यान्वयन पक्ष फितलो हुन पुगेको बताउनु भयो । उहाँले वडा बालश्रम मुक्त भएकोले बालबालिकालाई काममा नराख्न र नगराउन वडाबासीलाई आग्रह गर्नुभयो । उहाँले यदि बालबालिकालाई काम राखेको र गर्न लगाइएको भेटिएमा कानूनअनुसार कारवाही गरिने पनि चेतावनी दिनुभयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ लाई बालश्रम मुक्त वडा घोषणा गर्न वडा बाल अधिकार समितिको समन्वयमा र वल्ड भिजनको सहयोगमा गरिएको थियो ।
यसअघि चन्द्रागिरि केबलकार चोक हुँदै सिलाफल, साझा घर, कोटघर, थानकोट बजार, खरिकोबोट हुँदै वडा कार्यालयसम्म र्यालीको आयोजना गरिएको थियो ।



