काठमाडौं । चन्द्रागिरि वडा नं. ५ स्थित विशाल ग्रुपको नवनिर्मित व्यापारीक गोदाममा लागेको आगोमा परी एक जनाको मृत्युभएको छ । जेनजीले सोमबार गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि सरकारको चर्को दमनको विरोधमा काठमाडौंलगायत देशैभर तोडफोड, हिंसा र आगजनीका घटना हुन पुग्यो ।
मंगलबार भएको प्रदर्शनको क्रममा चन्द्रागिरि नगरपालिकाको विभिन्न स्थानमा पनि आगजनी र तोडफोडका घटना भए । सोही क्रममा विशाल ग्रुपको व्यापारीक गोदाम भवनमा पनि आगजनी भयो । उक्त आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।



आगो नियन्त्रणको लागि प्रयास गर्दा एक जनाको शव देखिएपछि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र महर्जनले भवनभित्र एक जना जलिरहेको देखिएपछि शव निकाल्ने प्रयास भइरहेपनि उनको पहिचान खुल्न नसकेको बताउनु भयो ।



