काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित वनदेवी ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवामा १ लाख २५ हजार दीप प्रज्ज्वलन गरिएको छ । नेपाल आमा स्वस्ती शान्ति पूजाका अध्यक्ष एवम् अभियान्ता हरि महतको संयोजकत्वमा दीप प्रज्ज्वलन गरिएको हो ।
दीप प्रज्ज्वलन कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले विभिन्न परम्परा र संस्कृति जोगाउने नगरपालिकको क्रियाकलापमा यस कार्यक्रमले केही हदसम्म टेवा पुर्याएको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमहरुले नगरमा रहेका जेष्ठ नागरिकहरुमा थप हौसला बढाएको पनि दाबी गर्नुभयो । जेष्ठ नागरिक मिलन केन्द्र दिवा सेवा केन्द्रहरुलाई नगरबाट दिइने सेवा सुविधा, भौतिक पूर्वाधार, सामग्रीलगायत अन्य सहयोग गर्न नगर तयार रहेको बताउनु भयो ।




कार्यक्रममा अभियान्ता हरि महतले घर–घरमा फैलिएको पितृदोषको अन्त्य गर्दै सम्पूर्ण समाजमा शान्ति, समृद्धि र सद्भाव फैलाउनु रहेको बताउनु भयो । महतले अहिलेको समाजमा धेरैजसो मानिसहरू अव्यवस्थित जीवन, मानसिक तनाव, आर्थिक संकट तथा पारिवारिक कलहमा फसेकोले घर–घरमा पितृहरुको रिस अर्थात् पितृदोष मुक्तिका लागि चितवनको देवघाटमा एक अर्ब दीप प्रगर्न लागिएको जानकारी दिनुभयो । अभियान्ता महतले यसअघि मुस्ताङको मुक्तिनाथमा गत चैत २८ गते १ करोड ११ लाख ११ हजार १ सय १ दीप प्रज्ज्वलन गर्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सांसद यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठ, वडाका जनप्रतिनिधि भुवन केसी, उमा थापा, रामशरण महत, पूर्णकुमारी बयलकोटीलगायत जेष्ठ नागरिक, स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सम्पूर्ण खर्च नेपाल आमा श्वस्ती शान्ती पूजाले गरेको थियो भने वनदेवी खैजडी भजन समूहले भजन प्रस्तुती गरेका थिए ।



