काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–९ भल्कास्थित खुटिया नदीमा डुबेर बिहीबार धनगढीका चार किशोरको ज्यान गएपछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी शोकमा डुबेको छ । कक्षा ११ मा अध्ययनरत सहपाठीसँगै खुटिया नदीमा अस्ताएपछि धनगढी शोकमा डुबेको हो । गहिरो नभएको भागबाट नदीको पारि गएका उनीहरु बालुवामा खेल्दै सुख्खा खाना खाएर पारि फर्कने क्रममा डुबेको बताइएको छ । डुबेर धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका जुम्ल्याहा दाजुभाइ १७ वर्षीय जेफ भण्डारी, याबेस भण्डारी, धनगढी–५ तारानगरका १७ वर्षीय सक्षम जोशी र जाईका १५ वर्षीय प्रतीक चौधरीको ज्यान गएको छ । मृत्यु भएका जुम्ल्याहा भण्डारी दाजुभाइ धनगढीको एफजिटी चर्चका पाष्टर जोयल भण्डारीका सन्तान हुन् । यसैगरी, मृतक प्रतीक महिमा मण्डली धनगढीका अगुवा बिन्तीराम चौधरीको छोरा रहेका जनाइएको छ ।

जेफ, प्रतीक र सक्षम धनगढीकै वाल्मिकी इन्टरनेशनल स्कुल कक्षा ११ मा अध्ययनरत थिए । यसैगरी, याबेस भने ग्यालेक्सी माध्यमिक विद्यालय कक्षा ११ व्यवस्थापन समूहमा अध्ययनरत रहेको जनाइएको छ । किशोर विद्यार्थीको अल्पायुमै निधन भएपछि दुवै विद्यालय परिवार शोकाकुल बनेको छ । विद्यार्थीको मृत्यु भएपछि शोकमा दुवै विद्यालयले आज विद्यालय पठनपाठन बन्द गरेका छन्

चार जना विद्यार्थीको दुःखद निधन भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, विभिन्न प्रदेश सभा सदस्य, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललगायत विभिन्न विद्यालयले दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।
किशोरहरु डुबेको ठाउँमा करिब २० मिटर पानीको गहिराइ रहेको प्रहरीले जनाएको छ । मृतक किशोरहरुको आज अन्त्येष्टि गरिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय