काठमाडौं । काभ्रेपलाञ्चोकको चार स्थानीय तहले बालमैत्री स्थानीय शासन घोषणाका लागि प्रतिबद्धता जनाएका छन् । जिल्लाका मण्डनदेउपुर, पाँचखाल नगरपालिका, भुम्लु र चौँरीदेउराली गाउँपालिकाले प्रतिबद्धता जनाएका हुन् ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आयोजित जिल्ला समन्वय समितिको आयोजनामा बालमैत्री स्थानीय शासन घोषणा र दिगोपना सम्बन्धमा अन्तरपालिका अभिमुखीकरण तथा कार्ययोजना निर्माण एवं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा ती स्थानीय तहले प्रतिबद्धता जनाएका हुन् । बालमैत्री स्थानीय शासन घोषणामा ५१ सूचक पूरा गर्नुपर्दछ । नियमानुसार तोकिएको सूचक पूरा गरेपछि मात्र बालमैत्री स्थानीय शासन घोषणा गर्न पाइन्छ । यसका लागि स्थानीय तहले निर्धारित सूचक पूरा गर्नैपर्ने जनाइएको छ ।

स्थानीय तहले बालमैत्री स्थानीय शासन घोषणाका लागि जिल्लाका सबै तहले प्रतिबद्धता जनाई सूचक परिपालना गर्न जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले सुझाव दिनुभएको छ । उहाँले बालमैत्री स्थानीय शासन घोषणाका लागि पूरा गर्नुपर्ने सूचकबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिबद्धताका क्रममा भुम्लु गाउँपालिकाका प्रमुख प्रेमबहादुर भुजेलले स्थानीय तहले बालमैत्री स्थानीय शासन घोषणाको विषय चुनौतीपूर्ण रहेकाले आगामी एक वर्षभित्र आफ्नो तहलाई बालमैत्री स्थानीय शासन घोषणा गरेरै छोड्ने बताउनुभयो । उहाँले यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले घोषणा मात्र गरेर नहुने भन्दै आगामी २०८४ सालसम्म जसरी पनि कार्यान्वयन गरिछाड्ने बताउनुभयो ।

यस्तै चौँरीदेउराली गाउँपालिकाको अध्यक्ष रेणुका चौलागाईँले बालमैत्री स्थानीय शासन घोषणा वर्तमान अवस्थामा चुनौतीपूर्ण बनेको उल्लेख गर्दै कार्यान्वयन गर्नै नसकिने भने नभएको तर्क व्यक्त गर्नुभयो ।

मण्डनदेउपुर नगरका प्रमुख टोकबहादुर वाइवाले पहिलेको समयभन्दा हालको अवस्थामा विषयमा सहज हुँदै गएको जनाउँदै इच्छाशक्ति हुने हो भने गर्न असम्भव नभएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेका प्रमुख सविता दङ्गाल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रागिश्री कक्षपति, सामाजिक विकास कार्यालयका प्रमुख रनमाया फ्याकलगायत विभिन्न स्थानीय तहका वडाध्यक्ष तथा सहभागी विद्यार्थीहरुले बालमैत्री स्थानीय शासन घोषणामा सबैले मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

चार स्थानीय तहमध्ये मण्डनदेउपुरमा १२ वडा, पाँचखालमा १३, चौँरीदेउरालीमा नौ र भुम्लुमा १० वटा वडा रहेका छन् । कुल ४४ वडामध्ये हालसम्म मण्डनदेउपुरको वडा नं ४ मात्रै बालमैत्री स्थानीय शासन घोषणा वडा भएको कार्यक्रममा जानकारी दिइयो । सबैजसो वडाले आगमी २०८४ सालभित्र बालमैत्री स्थानीय शासन घोषणा गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी तथा नागरिक समाजका अगुवाले बालमैत्री स्थानीय शासन घोषणा प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय