काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा ८ अर्ब ७० करोड रुपैयाँ बराबरका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको जनाएको छ ।



वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुबैमा बृद्धि भएको जानकारी दिनुभयो । उहाँले गत आवको तीन महिनामा ६ अर्ब १९ करोड रुपैयाँ बराबरको सवारीसाधन भित्रिएको बताउनु भयो । गत आवको तीन महिनामा सवारीसाधनको आयातबाट ५ अर्ब ९५ करोड राजस्व संकलन भएको थियो । चालु आवको तीन महिनामा ३ अर्ब ४१ करोड रुपैयाँको २४ हजार ९ सय ३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट ३ अर्ब २८ करोड राजस्व संकलन भएको छ ।
त्यस्तै गत आवको तीन महिनाको अवधिमा भने २ अर्ब ४९ करोड रुपैयाँको १९ हजार ४ सय ८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको तीन महिनामा ६२ करोड २४ लाख रुपैयाँको ३ सय ३० जीप, कार र भ्यानको आयात भएको छ । ती सवारीसाधनको आयातबाट १ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको तीन महिनाको अवधिमा भने ७६ करोड ५८ लाख रुपैयाँको ४ सय ३२ जीप, कार र भ्यानको आयात भएको थियो । सो आवमा ती सवारीसाधनको आयातबाट भने १ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख रुपैयाँको २ सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख रुपैयाँको ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट ९ करोड ११ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।



