काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई संगठित अपराध र सम्पति शुद्धीकरणको विषयमा मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय चितवनले दायर गरेको अभियोगपत्रमाथि अध्ययन गर्न छानबिन समिति गठन भएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित ३२ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो । त्यसमध्ये लामिछानेसहित २० जनाविरुद्ध ठगीको मुद्दा र १२ जनाविरुद्ध संगठित अपराध र सम्पति शुद्धिकरणको मुद्दा दायर भएको थियो ।



चितवन सरकारी वकिल कार्यालयको उक्त अभियोग त्रुटिपूर्ण भएको भन्दै महान्यायधिवक्ता कार्यालयले सो अभियोगपत्रमाथि अध्ययनका लागि महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ । सो समितिका सदस्यहरुमा सहन्यायधिवक्ता तथा महान्यायधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहाल, उच्च सरकारी वकिल कार्यालय हेटौंडाका सहन्यायधिवक्ता ईश्वरीप्रसाद ढकाल र सदस्य सचिवमा महान्यायधिवक्ता कार्यालयका उपन्यायधिवक्ता रुद्रप्रसाद आचार्य रहेका छन् ।
लामिछानेविरुद्ध अन्य तीन अदालतमा संगठित अपराध र सम्पति शुद्धीकरणमा मुद्दा चलाइए पनि चितवन जिल्ला अदालतले ठगीको मात्र अभियोग लगाइएको छ ।महान्यायधिवक्ता कार्यालयले आज जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन गर्न महान्यायधिवक्ताको कार्यालयमा सरुवा गरिसकेको छ ।



