चितवन – रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये चितवनमा फेला परेका शवलाई सुरक्षित राख्न समस्या भएको छ । शव संरक्षणका लागि आवश्यक पर्ने ड्राई आइस अर्थात् सुख्खा बरफको अभाव भएपछि गर्मीका कारण शव छिट्टै दुर्गन्धित हुने जोखिम बढेको हो । बढ्दो गर्मी, घाम तथा वर्षाका कारण शवलाई चिसोमा राख्नुपर्ने भए पनि चितवनमा तत्काल ड्राई आइस उपलब्ध हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख , प्रमुख जिल्ला गणेश अर्यालले शव संकलनको काम सुरु भइसके पनि सुरक्षित राख्न ड्राई आइस आवश्यक रहेको बताउनुभएको छ ।उहाँका अनुसार, चितवनमा ड्राई आइस खोजी गरिए पनि अहिलेसम्म उपलब्ध हुन सकेको छैन । ड्राई आइसको अभावमा शव कुहिने र त्यसबाट थप स्वास्थ्य जोखिमसमेत उत्पन्न हुनसक्ने देखिएको छ ।
ड्राई आइस ठोस कार्बन डाइअक्साइड हो । सामान्य बरफजस्तो पग्लिएर पानी नबनी यो ग्यासमा परिणत हुन्छ । शवलाई कम तापक्रममा राख्न यसको प्रयोग गरिन्छ । भोटेकोशी बाढीमा बगेर बेपत्ता भएकामध्ये हालसम्म चितवनमा १ सय ८७ वटा शव फेला परेका छन् । फेला परेका शवको सरसफाइ तथा पहिचान प्रक्रिया सहज बनाउन भरतपुरस्थित औद्योगिक विकास प्रतिष्ठानको पुरानो भवन मर्मतसम्भार गरी शव राख्ने व्यवस्था मिलाइएको छ । भवनमा एसी जडान गरी तापक्रम घटाउने प्रयास गरिएको भए पनि त्यसले मात्रै शवलाई लामो समयसम्म सुरक्षित राख्न पर्याप्त नहुने प्रहरीको भनाइ छ । त्यसका लागि ड्राई आइस आवश्यक परेको हो । यसैबीच, फेला परेका शवको पहिचान गरी परिवारलाई बुझाउने प्रक्रिया पनि सुरु भएको छ । समाचार तयार पार्दासम्म दुई जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।



सनाखत हुनेमा प्रहरी चौकी बेत्रावतीमा कार्यरत नुवाकोटको तारेकेश्वरका ४३ वर्षीय रामकाजी पौडेल र बाँकेको कोहलपुरका कविरलाल चौधरी रहेका छन् । शव पहिचानमा सहजता ल्याउन प्रहरीले मृतकहरूको अनुहार देखिने गरी तस्बिरसमेत सार्वजनिक गरेको छ । ती तस्बिर नेपाल प्रहरीको वेबसाइटमा राखिनुका साथै उद्योग संघमा डिस्प्ले बनाएर सर्वसाधारणका लागि प्रदर्शन गरिएको छ ।अनावश्यक भिडभाड नहोस् र शव पहिचानमा सहजता होस् भन्ने उद्देश्यले तस्बिर सार्वजनिक गरिएको प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताउनुभएको छ । शवको पहिचान तथा व्यवस्थापनको काम अघि बढिरहँदा ड्राई आइसको तत्काल व्यवस्था हुन नसके शव संरक्षणमा थप चुनौती उत्पन्न हुने देखिएको छ ।



