चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) छोङछिङको पार्टी स्कुल र माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेशको पार्टी स्कुल बीचमा ५ वर्षको लागि ५ बुँदे सम्झौता भएको छ । छोङछिङको पार्टी स्कुलको तर्फबाट वाङ थ्याङ लियाङ र माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेशको पार्टी स्कुलको तर्फबाट ओम प्रकाश पुनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतामा दुबै पक्षले पार्टी निर्माण र राज्य शासनमा आपसी सिकाई र अनुभव साटासाटलाई गहिरो बनाउने, राज्य शासन, पार्टी निर्माण, माओवादी कर्याकर्ताहरुको तालिमजस्ता क्षेत्रहरूमा प्राप्त व्यावहारिक उपलब्धीको संक्षेप गर्ने, आ–आफ्ना पार्टीहरूको राम्रो र छिटो विकासलाई प्रवद्र्धन गर्नेमा सहमति भएको छ ।

त्यस्तै सम्झौताको बुँदा नम्बर २ मा दुबै पक्षले पार्टी स्कूलको विकासमा अनुभव साटासाट सुदृढ गर्ने, कर्याकर्ता शिक्षादिक्षा तथा तालिम प्रणाली, पाठ्यक्रम डिजाइन, शिक्षक विकास, शिक्षण विधिको विकासमा सहकार्य गर्ने, संयुक्त रूपमा कर्याकर्ता शिक्षाको अन्तर्राष्ट्रियकरण र व्यावसायिककरणलाई प्रवद्र्धन गर्नेमा सहमति भएको छ ।

त्यस्तै बुँदा ३ मा दुबै पक्षले २१औँ शताब्दीमा माक्र्सवादको नयाँ विकासलाई प्रवद्र्धन गर्ने, स्थानीय सन्दर्भहरू र समकालीन आवश्यकतासँग मेल खाने माक्र्सवादको सिद्धान्त र अभ्यासमा केन्द्रित हुने र क्षेत्रीय समाजवादी आन्दोलनहरू तथा राज्य शासन जस्ता विषयहरूमा संयुक्त अनुसन्धान गर्नेमा सहमति जनाइएको छ ।

बुँदा ४ मा दुबै पक्षले बहु–स्तरीय आदानप्रदान संयन्त्र निर्माण गर्ने, उच्च स्तरीय भ्रमण, शिक्षक आदानप्रदान, कक्षा अवलोकन, संयुक्त सेमिनार, विषयगत कार्यशालामार्फत सैद्धान्तिक आदानप्रदान, शैक्षिक संवाद र अनुभव साटासाट सुदृढ गर्नेमा सहमति भएको छ ।

सम्झौताको अन्तिम बँुदामा दुबै पक्षले यस समझदारी पत्रको आधारमा आगामी सहकार्यबारे थप छलफल गर्नेमा सहमति जनाएका छन् । समापन समारोहमा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले भ्रमणले दुई राष्ट्रबीच बिकसित भएको सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्ने बताउनु भयो ।

समाजबादी क्रान्तिलाई साम्यवाद तिर अग्रसर गराउन पनि महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियोे । जनताको जीवनस्तर सुधार गर्दै छोटो समयमा छोङ्छिङ लगायतका अरु क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै चीनले अंगिकार गरेको बिकाशको मोडेललाई नेपालले पनि अनुशरण गर्नुपर्ने शर्माको भनाइ थियो ।

त्यस्तै सीपीसीको अन्तर्राष्ट्रिय बिभागका निर्देशक चाङ जु जिङले नेपाल चीन सम्बन्धको ७० वर्ष पुगेको बेला भएको यो भ्रमणले दुई देश बीचको सम्बन्धमा थप प्रगाढ बनाएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय