काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आजबाट आफ्नो सेवा सुचारु गरेको छ । २४ गते भएको जेनजीको आन्दोलनले देशमा आइपरेको विषम परिस्थितिलाई मध्य नजर गर्दै केही दिन बन्द भएको सेवा नगरपालिकाले आजबाट सुचारु गरेको हो । जेनजीको प्रदर्शनको क्रममा चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनमा पनि सामान्य तोडफोड भएको थियो । कर्मचारी र नगर प्रहरीले टुटफुट सामान र फोहोर सफा गर्दै आजबाट नगरबासीलाई सेवा सुचारु गरेको छ ।




जेनजीका प्रदर्शनकारीले २४ गते बेलुका चन्द्रागिरि नगरपालिकामा तोडफोड र सवारी साधनमा आगजनी गरेका थिए । प्रदर्शनकारीले नगरपालिका भित्र रहेको मेयर घनश्याम गिरी चढ्ने गाडी, नगर प्रहरीको गाडी, दमकल, पजेरो, स्टाफ गाडीलगायत १० वटा गाडीमा तोडफोड गर्नुका साथै ३ वटा मोटरसाइकल आगजनी गरेका थिए । प्रदर्शनकारीले नगरपालिकाको झ्यालका सीसा, कम्प्यूटर, टिभी नगर प्रहरी व्यारेक, लिफ्ट गेट, गमला तोडफोड गर्न भ्याए । प्रदर्शनकारीले नगरपालिकाको भवनमा आगो लगाउन खोज्दा स्थानीय पुगे ।

प्रदर्शनकारी र स्थानीयबीच केही क्षण छिनाझम्टी हुन पुग्यो । अन्ततः स्थानीयले प्रदर्शनकारीलाई लखेट्न सफल भए । स्थानीयले चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवन अगाडी रातभर पहरा दिए । छिमेकी पालिका कीर्तिपुर नगरपालिकालगायत अन्य पालिकाको प्रशासकीय भवन जल्दै गर्दा चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवन भने स्थानीयले देखाएको साहसकै कारण जल्नबाट जोगिएको छ । ती युवाहरुलाई हाम्रो पनि सलाम ।
कहाँ थिए नगर प्रहरी
नगरपालिका तोडफोड गर्न जेनजीका प्रदर्शनकारी पुग्दा नगरपालिकाको सुरक्षाको लागि डयूटीमा जम्मा तीन जना मात्र खटेका थिए । नगरमा रहेका २४ जना नगर प्रहरी मध्ये एक जना मानकुमारी कार्की एपीएफमा नाम निकालेर गएपछि अहिले नगर प्रहरी सहायक निरीक्षकसहित २३ जना रहेका छन् । भदौ २४ गते बेलुका नगरपालिका तोडफोड र आगजनी हुँदै गर्दा नगर प्रहरी राधेश्याम केसी, बालकृष्ण थापा र अनिल सार्कीमात्र ड्यूटीमा थिए । नगर प्रहरी सहायक निरीक्षक नरेन्द्र केसीसहित अन्य नगर प्रहरी भने घरमै आराम गरिरहेका थिए ।
हामीले नगर प्रहरी सहायक निरीक्षक केसीलाई २४ गते बेलुका अन्य नगर प्रहरी कहाँ थिए भनि सोध्दा नगरमै सिभिलमा रहेको जानकारी दिन्छन् । तर, उनी आफै त्यो दिन घरमै थिए । आज नगरमा निरीक्षक केसी र एक जनामात्र गेटमा नगर प्रहरी देखेपछि अन्य नगर प्रहरी कहाँ छन् भन्दा उनी केही बोल्न चाहेनन् । हामीले उनीसँग भदौ २३ गतेदेखि आजको दिनसम्मको ड्यूटी सेड्यूल माग्यौ, उनले नगर प्रहरीको ड्यूटी सेड्यूल नवनाई मौखिकरुपमा नै गर्ने गरेको बताए । नगर प्रहरी न नगर पालिका वरपर देखिन्छन् न नगरपालिका भित्र नै ? कहाँ छन् त नगर प्रहरी ? कहाँ गए नगर प्रहरी ?
स्थानीयले जेनजीले नगरपालिका तोडफोड र आगजनी गर्दै गर्दा नगरपालिकामा नगर प्रहरी भने केही मात्र देखिएको भन्दै उनीहरुप्रति प्रश्न खडा गर्न थालेका छन् । उनीहरुले यदी नगर प्रहरीकै भरमा नगरपालिका छोडेको भए आज नगरपालिका खरानीमा परिणत हुने थियो भन्दै आवाज उठाउन थालेका छन् ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा शान्ति, सुरक्षा र नगरलाई सु–व्यवस्थित बनाउनको लागि २०८० असार ५ गते नगर प्रहरी सेवा करारमा लिन भन्दै सूचना निकाल्छ । नगरपालिकाले छैटौं अधिकृत स्तरको एक नगर प्रहरी निरीक्षक, सहायक चौंथो तहको नगर प्रहरी सहायक निरीक्षक एक, नगर प्रहरी जवान १५ खुला र महिलातर्फ ८ जना नगर प्रहरी जवानको लागि दरखास्त आह्वान गर्छ । सोही सुचनाको आधारमा नगर प्रहरीका लागि २ सय ९९ जनाले निवेदन दिन्छन् । जसमध्ये छैटौं अधिकृत स्तरको एक नगर प्रहरी निरीक्षकको लागि ४ जनाको निवेदन, सहायक चौंथो तहको नगर प्रहरी सहायक निरीक्षकका लागि २० जनाको निवेदन, यस्तै २३ नगर प्रहरी जवान पदका लागि २ सय ७५ जनाको निवेदन पर्छ । उनीहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण, शारीरिक तन्दुरुस्ती मूल्यांकंन परीक्षा, लिखित परीक्षा, बिस्तृत स्वास्थ्य परिक्षण र अन्तर्वार्ता गरेर ५ चरणमा छनौट प्रकृया पुरा गर्दै नगर प्रहरी सहायक निरीक्षक एक जना, नगर प्रहरी जवान खुल्ला तर्फ १५ जना र नगर प्रहरी जवान महिला तर्फ ८ जना गरि २४ जना उत्कृष्ट नगर प्रहरी भन्दै नगरपालिकाले छनोट गर्छ । तर, तिनै उत्कृष्ट भनिएका नगर प्रहरीबाटै यही भदौ २४ गते जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनीमा चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनको सुरक्षार्थ भने कुनै पनि योगदान देखिएन ।

स्थानीयले तोडफोड र आगजनी गर्न आएका प्रदर्शनकारीलाई लखेट्दै गर्दा ५–६ जना मात्र नगर प्रहरीको उपस्थिति हुनु त्यो जतिको दुर्भाग्य के हुन सक्छ ? स्थानीयले यतिबेला नगरबासीको सुरक्षामा राखिएका नगर प्रहरीले नगरपालिकाको नै सुरक्षा गर्न सक्दैन भने नगरबासीको के सुरक्षा गर्ला भन्दै प्रश्न चिन्ह खडा गरेका छन् ।

नगरपालिका तोडफोड र सवारी साधनमा आगजनी हुँदै गर्दा नगरको सुरक्षाका लागि राखिएका नगर प्रहरी त्यतिबेला कहाँ थिए ? खोजी हुन आवश्यक छ । त्यस्ता नगर प्रहरीलाई नगरपालिकाले तत्कालै कारवाही गर्नुपर्छ । अन्यथा नगरपालिका भित्र सुशासन कायम गर्न राखिएका नगर प्रहरीको सुरक्षाले नै कुनै बेला हात्ति आयो हात्ति आयो फुस्सा नबनाउला भन्न सकिदैन ।



