काठमाडौं । ‘जेनजी पुस्ता’को आन्दोलनमा थुप्रै सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि स्थानीय तहमा सेवा सञ्चालनबारे अन्योल छ । स्थानीय तहमा आगजनी र तोडफोड भएपछि सेवामा बाधा पुगेको हो ।

सरकारी कार्यालयका कम्प्युटरदेखि कागजात र फनिर्चर जलेर नष्ट भएपछि तत्काल सेवा प्रवाहमा समस्या देखिएको छ ।

कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले अहिले क्षतिको विवरण संकलन र मुचुल्का उठाउने काम भइरहेकोले सेवा प्रवाहमा अझै केही दिन लाग्ने बताउनुभयो ।

कञ्चनपुरमा मात्र आन्दोलनकारीले ३० वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् भने केही कार्यालयमा सामान्य क्षति भएको छ ।

यस्तै शुक्लाफाँटा नगरपालिकाको कार्यालयसँगै वडा नं १, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का कार्यालयमा आगजानी र तोडफोड हुँदा पूर्ण रूपमा ध्वत भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले वडा कार्यालय पूर्ण क्षति भएका कारण तत्कालसेवा दिन कठिनाइ भइरहेको जानकारी दिनुभयो ।

कञ्चनपुरमा सरकारी कार्यालयसँग नेताहरूका निजी घर, पार्टी कार्यालय र व्यावसायिक प्रतिष्ठानमा समेत आगजनी र तोडफोड भएपछि स्थानीय तहका कर्मचारी त्रसित छन् । दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले ढुक्क भएर सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ ।

त्यसैगरी, भीमदत्त नगरपालिका कार्यालय र बेलडाँडी गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरी भौतिक संरचना, कागजपत्र, फर्निचर र अन्य सामग्रीमा नोक्सानी पुर्याइएको छ । तोडफोड र आगजनी हुँदा भौतिक संरचना, फर्निचर र सवारीसाधनमा ठूलो क्षति भएको छ । आन्दोलनका क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसका पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ ।

साथै, निवर्तमान गृहमन्त्री रमेश लेखक, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्वमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक, पूर्वसांसद निरुदेवी पाल, प्रदेशसभा सदस्य मधु भारती, वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा, भीमदत्तका पूर्वनगरप्रमुख सुरेन्द्र विष्ट, जिसस प्रमुख दुर्गादत्त बोहरा, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझालगायतका घरमा आगजनी र तोडफोड गरिएको छ । प्रहरीका अनुसार होटल ओपेरा, सीएमजी क्यासिनो, विपीन पुस्तक पसल, रोयल सिलाइ सेन्टर र डायमन्ड क्यासिनोमा समेत तोडफोड, आगजनी र लुटपाट भएकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय