काठमाडौं । मंगलबार भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा राजधानीमा कार्यरत दुई प्रहरीको ज्यान गएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार प्रहरी वृत्त महाराजगञ्जमा आक्रमण हुँदा एक असई र अर्का एक प्रहरीको मृत्यु भएको पुष्टि भएको छ। उनका अनुसार अन्यत्र कति प्रहरी घाइते वा मृत्यु भएका छन् भन्नेबारे यकिन विवरण आउन बाँकी छ। “केही प्रहरी सम्पर्कविहीन छन्, केहीको अवस्था स्पष्ट छैन,” डीआईजी घिमिरेले भने।
मंगलबारको प्रदर्शन राजधानीसहित देशभर तीव्र बनेको थियो। आन्दोलनका क्रममा सरकारी कार्यालय, सुरक्षा निकायका संरचना र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। सुरक्षा निकायले थप जानकारी क्रमशः सार्वजनिक गरिने जनाएको छ।






