काठमाडौं । जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरिएको छ । दाङको तुलसीपुरमा रहेका विभिन्न सरकारी कार्यालयमा यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ को प्रदर्शनका क्रममा कार्यालय तोडफोड तथा आगजनीपछि चोरी भएका सामान फिर्ताका लागि आग्रह गरिएको हो ।
उच्च सरकारी वकिल कार्यालय तुलसीपुरले आन्दोलनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेको छ । कार्यालयका निमित्त प्रमुख उपन्यायाधिवक्ता नगेन्द्र लम्सालद्वारा जारी सूचनामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, हार्डडिक्स, कुर्सी, टेबल, फ्रिजलगायत सामग्री चोरी भएको उल्लेख गरिएको छ ।



कार्यालयले सामाजिक सञ्जालमा देखिएका तस्बिर तथा भिडियो, सिसीटिभी फुटेज र प्रत्यक्षदर्शीको भनाइका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान भइसकेको जनाएको छ ।
चोरी भएका सामान तुरुन्त फिर्ता गर्न वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन कार्यालयले अनुरोध गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेकाले दोषीलाई शीघ्र कानुनी दायरामा ल्याउने तयारी गरेको छ ।



